मतदाता परिचयपत्र छैन ?, यसो गर्नुस्

शनिबार देशका ५२ स्थानमा चुनाव हुँदै छ । फोटोसहितको मतदाता नामावली भएका मतदाताले आफ्नो क्षेत्रमा गएर मत दिन सक्छन् । मतदाता परिचयपत्र भेटिएन वा हरायो के गर्ने ?

उपनिर्वाचनमा कुनै करणवश मतदाता परिचयपत्र नपाएमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था छ । नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न सकिने व्यवस्था आयोगले गरेको छ ।

मतदाता नामावलीमा तथा मतदाता परिचयपत्रमा भएको मतदाताको विवरणमा सामान्य त्रुटि पाइएमा सानोतिनो भुलचुक मानी सरकारी निकायबाट तस्बिरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न दिने प्रबन्ध मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको आयोगले जानकारी दिएको छ ।

शनिबार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगर प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र ४३ वडाध्यक्षका लागि मुलुकका ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हँुदै छ ।