ताजा समाचार

मंसिर २ गते २०७६

उप-निर्वाचन सुरक्षा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

आशन्न प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको उप-निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनका लागि मंसिर ०१ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा उप-निर्वाचनको शान्ति सुरक्षाको विषयमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक दिपक रेग्मीले यही मंसिर १४ गते हुन गईरहेको उप(निर्वाचनमा गण्डकी प्रदेश मातहतमा हुने उप(निर्वाचनका क्षेत्रहरु, उम्मेद्वार, मतदाता, निर्वाचन सुरक्षा चुनौती, प्रहरी जनशक्ति परिचाल, मतदान केन्द्रको सुरक्षा योजना, आवस्यक श्रोत साधनको व्यवस्थापन, उप-निर्वाचनको पूर्व तयारी, निर्वाचनको दिनको सुरक्षा तयारी, निर्वाचन पश्चातको सुरक्षा योजना, मतपेटिका तथा मत पत्रको सुरक्षा लगायतका विषयमा तयार पारिएको प्रस्तुती कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरे समक्ष प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले आशन्न उप-निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा विश्वसनिय वातवरणमा सम्पन्न गराउनका लागि देखापर्न सक्ने चुनौतिहरुलाई पूर्वानुमान गरी सरोकारवाला निकायहरुसंग आवस्यक छलफल गर्दै विशेष सुरक्षा रणनीति अनुरुप उच्च सतर्कताका साथ कार्य सम्पादन गर्न गराउन सहभागी अधिकृतहरुलाई निर्देशन समेत दिएका थिए ।


कार्यक्रमका अवसरमा सहभागी अन्य प्रहरी अधिकृतहरुले समेत आ-आफ्नो क्षेत्रको उप-निर्वाचन सुरक्षा चुनौती र अवस्थाबारे प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेलाई अवगत गराएका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्ण, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।