भारतले मिचेको भूमि फिर्ता माग्दै नेविसंघद्धारा प्रदर्शन


भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि राखिएको भन्दै नेपाल विद्यार्थी संघ कास्की र कास्की अन्तर्गत विभिन्न कलेजका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

पोखराको रामबजारस्थित भारतीय दूतावास अगाडि नेपाल विद्यार्थी संघ कास्कीका सभापति मनोज रानाभाटको नेतृत्वमा प्रदर्शन भएको हो ।

उक्त अवसरमा सभापति रानाभाटले नेपालको भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले भने, ‘जबसम्म हाम्रो भूमि फिर्ता हुँदैन, त्यतिबेलासम्म हामी लडिरहन्छौं ।’

दार्चुलास्थित नेपाली भूमि लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ नक्सामा समेटेको भन्दै विरोध गरिएको नेविसंघ लाग्रान्डीका सभापति विनय पौडेलले बताए ।

सहभागी विद्यार्थीले ‘हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्कााएका थिए । उनीहरुले छिमेकीले पटकपटक सीमा मिच्दा पनि लाचार भएर बस्ने सरकारको पनि विरोध जनाएको पौडेलले बताए ।

प्रदर्शनपछिको कोणसभामा नेविसंघ पोखरा विश्वविद्यालयका नेता विकास रानाभाटले राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप सहन नसकिने भन्दै सीमामा कुनै पनि छिमेकीको हस्तक्षेप स्विकार्न नसकिने बताए ।

उनले लिम्फियाधुरा, कालापानी र लिपुलेक लगायतका क्षेत्रमा भारत तथा उत्तरतर्फ चीनले कैयौं ठाउँमा सीमा मिचे पनि सरकार लाचार भएर कुरा गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा विद्यार्थी नेताहरू पवन अधिकारी, विजय घिमिरे, अपिल भट्टराई, जीवन भण्डारी, सन्तोष सिग्देल, सचिन पोख्रेल पनि सहभागी थिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं