ताजा समाचार

कार्तिक २३ गते २०७६

अमरसिंहमा बन्यो स्मार्ट शौचालय

पोखरा १२ अमरसिंह चौरमा महानगरले स्मार्ट शौचालय बनाएको छ । यसअघि, समय समयमा सार्वजनिक सभा, सम्मेलन र मेलासमेत हुने अमरसिंह चौरमा शौचालय भने थिएन ।

पोखरा महानगरले अमरसिंह चोकमा स्मार्ट सेन्सर भएको शौचालय बनाएको छ । यसको शनिबार महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । शौचालय करिब २६ लाखमा बनेको हो । शौचालय बालमैत्री, महिलामैत्री र अपांगमैत्री पनि छ ।

पोखरा महानगर, रोट¥याक्ट क्लब, लायन्स क्लब, अमरसिंह व्यापार, व्यवसाय समितिको संयुक्त लगानीमा शौचालय बनेको हो । मेयर जिसीले महानगरमा व्यवस्थित शौचालय बनाउन सुरु गरिएको बताए ।

महानगरले पोखराको मालपोत कार्यालय, सराङकोट भकुन्डे, ठूली पोखरी र सहिदपार्कमा प्रविधि र अपांगमैत्री स्मार्ट शौचालय बनाइसकेको छ । पोखरा ६ हल्लनचोकमा निर्माणाधीन स्मार्ट शौचालय चाडै सञ्चालनमा आउने मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

महानगरले यसै आर्थिक वर्षमा दोबिल्ला पिकनिक पार्क, मीलनचोक, राखीडाँडा, रत्नशोभा मावि माझठाना लगायत ठाउँमा समेत शौचालय बनाइने जनाएको छ ।