ताजा समाचार

कार्तिक २३ गते २०७६

‘माफी माग र नक्सा सच्याऊ’

राष्ट्रिय सम्पदा तथा मानवअधिकार संरक्षण समिति नेपालले भारतले जारी गरेको नयाँ नक्सा सच्याउन कूटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेको छ । भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ ।

संस्थाका महासचिव सुनिल पाण्डेले विज्ञप्ति निकालेर २ देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषय कूटनीतिक माध्यमबाट वार्ताद्वारा सुल्झाउन आग्रह गरिएको छ । दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा विवाद टुंग्याउनु आग्रह गरिएको छ । विज्ञपित्म्ँ मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित मुद्दामा नेपाल सरकार, प्रतिपक्षी दलहरु तथा सबै नेपाली नागरिक एकसाथ उभिन पनि आग्रह गरिएको छ ।

यस्तै, गण्डकी साहित्य संगम पोखराले पनि विज्ञप्ति निकालेर भारतले त्रुटिपूर्ण नक्सा सार्वजनिक गरेकोमा माफी मागेर सच्याउन लगाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष डा. कृष्णराज अधिकारी र सचिव भीम रानाभाटले यो कदमले स्वाधीन राष्ट्रमाथि हस्तक्षेप र अतिक्रमण गरेको जनाएका छन् ।

विज्ञप्तिमा पटक पटक हुने द्विपक्षीय वार्तामा सीमा अतिक्रमणका विवाद दह्रो गरी उठाउन नसक्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै भारतको यो कदम सह्य हुन नसक्ने उल्लेख छ ।