ताजा समाचार

कार्तिक २२ गते २०७६

कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउँछौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउने बताएका छन् ।

नेकपा कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले छिन्नभिन्न अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई २ पार्टी एकताले नयाँ सन्देश दिएको मात्र नभइ देशलाई समुन्नतितर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताए ।

पार्टी एकिकरणका क्रममा बाँकी रहेका केही कामलाई यही २४ गते भित्र टुंग्याइने गरी लागि परेको पनि उनले बताए ।

वर्तमान सरकारले देशलाई समृद्धिको बाटोमा गतिशिल ढङ्गले अगाडि बढाइरहेको भन्दै अध्यक्ष दाहालले केरुङ काठमाडौ, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्गको विस्तृत अध्ययन भएको र यसलाई सफल बनाएर छाड्ने बताए ।

पर्यटकीय शहर पोखराको निम्ति यहाँका सम्पूर्ण तालको संरक्षण र सम्वद्र्धनमा विशेष कार्यक्रम आउने तरखरमा रहेको र चक्रपथको आवश्यकतालाई साकार रुप दिने अध्यक्ष दाहालले बताए ।

उपनिर्वाचन जित्ने र सरकार लोकप्रिय रहेको सन्देश दिनको लागि भए पनि चुनाव जसरी भए पनि जित्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए । सरकारले गरेका राम्रा कामहरुको बारेमा घरघरमा टोलटोलमा व्यक्ति व्यक्तिसँग पुगेर प्रचार गर्न उनले आग्रह गरे ।

‘विकास निर्माणको बारेमा हाम्रा पार्टीले अगाडि बढाएका परियोजना, कानूनहरु, छिमेकी र विदेशीसँग गरेका सम्झौताहरु सबैभन्दा पछिल्लो मोतहारीदेखि अमलेखसम्मको पाइपलाइन विछ्याउने परियोजना सानो कुरा होइन । यसको सन्देश ठूलो छ, अर्बौ रुपैया महिनैपिच्छे बच्ने भएको छ, सरकारका कामका बारेमा जनतालाई बुझाउनुहोस’, उनले भने ।

चीनका राष्ट्रपतिको २३ वर्षपछिको भ्रमणलाई पनि उनले सरकारका कार्यमा सामेल गरे । यस्तै, चीनबाट रेल ल्याउने विषयको उठान सबैभन्दा पहिले आफैले गरेको दाबी प्रचण्डको छ ।

‘मैले पहिलोपटक प्रधानमन्त्रीको रुपमा चीन जाँदा त्यहाँका प्रधानमन्त्री हुँ जिन्ताओलाई भनेको थिएँ, हाम्रो एउटा सपना छ, ल्हासाबाट लुम्बिनीसम्म रेल र्पुयाउने । यही मार्गचित्रमा रेल जाओस भन्ने सपना छ । यो अहिले सपनाजस्तो छ ।

२०–३० वर्ष लाग्ला अहिले २० वर्ष नहुँदै विपना हुँदैछ । रेल केरुङ काठमाडौं, काठमाण्डौ देखि पोखरा र लुम्बिनी ल्याइन्छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले नेकपाकै महासचिव विष्णु पौडेलसँग हल मिलेको समेत बताए । उनले भने, ‘हाम्रा महासचिव कमरेडलाई लिएर अहिले उहाँको र मेरो करिबकरिब हलगोरु जस्तै हुन थालेको छ । जहाँपनि पनि हामी हलगोरु जस्तै जान्छौँ । एउटाले भनेपछि अर्कोलाई त्यै हो, त्यै हो भन्ने लाग्छ ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले लोकप्रिय नेता रवीन्द्र अधिकारीको गृह जिल्ला फेरि उदाहरणीय बन्नुपर्ने भन्दै सोको लागि विद्या भट्टराईलाई निर्विकल्प उम्मेद्वारको रुपमा पार्टीले अघि सारेको बताए । प्रशिक्षण कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह तमुलगायतले बोलेका थिए ।