ताजा समाचार

कार्तिक २२ गते २०७६

दुवैका दाँत भाच्चिएपछि बुद्धि फिर्यो : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्टबीच ऐतिहासिक आवश्यकता र समसामयिक कारणले एकता भएको जनाएका छन् । एकताले नै यति चाडै विकास र समृद्धिको नेतृत्व गर्ने अवसर नेकपालाई आएको उनको भनाइ छ ।

साबिक एमाले र माओवादी केन्द्र दुवैले देशकै ठूलो पार्टी र कमजोर पार्टीको अनुभव गरी एकता अनिवार्य ठानेको र यसमा कार्यकर्ताले पनि बल दिएको उनले सुनाए । प्रचण्डले भने, ‘कुनै न कुनै समय हामीले धर्ती छाड्यौ, सिंगहरु भाच्चिए । त्यसपछि हाम्रो बुद्धि फि¥यो ।’

नेकपा कास्कीले शुक्रबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उनले पोखरासँग आफ्नै छुट्टै प्रकारको संवेदना जोडिएकोसमेत उल्लेख गरे । जन्मेर ८ वर्ष बिताएको कास्कीमा हुने हरेक क्रियाकलापको परिणाममा आफू जोडिने उनले जनाए ।

उनले देशको समृद्धिसँगै पोखराको विकास र समृद्धिको नेतृत्व पनि नेकपाले गरिरहेको उल्लेख गरे । उनले भने, ‘पोखराको विकासका लागि चारैतिर रिङरोड र ताहरुहरुको संरक्षण जरुरी छ । यो नेकपाकै नेतृत्वबाट मात्र सम्भव छ । यो चाडै हुन्छ ।’

आफू अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीभन्दा फुर्सदिलो भएकाले उपचुनावमा देशभर हिडिरहेको जनाए । उनले भने, ‘म अलि फुर्सदिलो अध्यक्ष परें । साथीहरुले बोलाउनु हुन्छ, म पनि देशभर जोत्न हिडेको छु ।’ देशभरका कार्यकर्तासम्म जाने र प्रशिक्षित गर्ने अवसर उपचुनावले मिलेको उनले बताए । उनले भने, ‘देशभरका कार्यकर्ताको उत्साह, उमंग, गुनासो, आक्रोश र सुझावले आफैं पनि प्रशिक्षित भएजस्तो लाग्छ ।’

‘पोखराको विकासका लागि चारैतिर रिङरोड र ताहरुहरुको संरक्षण जरुरी छ । यो नेकपाकै नेतृत्वबाट मात्र सम्भव छ । यो चाडै हुन्छ ।’

कास्की २ मा यसअघि निर्वाचित रवीन्द्र अधिकारीको निधनलाई शोकलाई शक्तिमा बदल्नुपरेको उनले सुनाए । शोकलाई शक्तिमा बदल्न कम्युनिस्टहरुले मात्र सक्ने र यसका २ फाइदा रहेको उनको भनाइ छ । प्रचण्डले भने, ‘एक त यसबाट दिवंगतको सपना पूरा हुन्छ, अर्काे जीवित मानिसको सेवा पनि हुन्छ ।’ उनले कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीको हैसियत, क्षमता र मनोविज्ञानले जित भइसकेको र अब घोषणा हुने दिन पर्खिनुमात्र बाँकी रहेको सुनाए । उनले भने, ‘प्रशिक्षणमा आएँ, अब बधाईं दिन बोलाउनुस्, फेरि आउँछु ।’

उनले यो उपचुनावमा कम्युनिस्टलाई विजयी हुन अरु कसैले रोक्न नसक्ने तर्क गरे । उनले भने, ‘कम्युनिस्टलाई अरु कसैले हराउन सक्दैन कम्युनिस्टले बाहेक ।’ आपसी फुट, वैमनस्य र बेमेलले पराजय हुन सक्ने उनले औंल्याए । कम्युनिस्ट एकता पूरा हुन नदिन र देशलाई दुर्घटनामा लैजान ऐतिहासिक दुर्घटना गराउने तानाबाना केही शक्तिले बुनिरहेको उनको दाबी छ । उनले नेकपा एकता यही २५ गते टुंगिने उद्घोष गरे ।

जनतालाई नेकपालाई ५ वर्षको जनमत दिनुभएको थियो । त्यो विश्वास डगमगाउन दिन्न, बरु थप सशक्त बनाउँछु

नेकपा महासचिव विष्णुप्रसाद पौडेलले अहिलेको सरकारका काम र नेकपा नेतृत्व गर्व गर्न लायक भएको बताए । उनले कम्युनिस्ट एकता नहोस् र देश समृद्धितर्फ नजाओस् भनी धेरै षड्यन्त्र भइरहेको दाबी गरे । महासचिव पौडेलले भने, ‘प्रायोजित प्रचार चिर्नुस्, सरकार र नेकपाले गरेका ऐतिहासिक काम र उपलब्धि लिएर जनतालाई जानुस् ।’

विश्व कम्युनिस्ट आन्दोलनमा नेपाली कम्युनिस्ट आन्दोलनको विशिष्ट स्थान रहेको उल्लेख गर्दै उनले नेपालको आन्दोलनलाई नपढी विश्व कम्युनिस्ट आन्दोलन पूरा हुनै नसक्ने जनाए । भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेक समावेश भएकोमा आपत्ति जनाउँदै उनले यसलाई सच्याउन भारतलाई आग्रह गरे । पौडेलले भने, ‘हामी छिमेकीसँग सुमधुर सम्बन्ध चाहन्छौं तर हाम्रो स्वतन्त्रता, सार्वभौमसत्ता र अस्तित्वमा चुनौति आए सामना गर्न पनि तयार छौं ।’

नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराईले उपनिर्वाचन आफू नभई पार्टी उठेकाले यसमा विजयी गराउने अभिभारा पार्टी, कार्यकर्ता, जनता र शुभेच्छुकहरुको भएको विचार राखिन् । उनले जनताले कास्की २ मा नेकपालाई ५ वर्षका लागि सानदार जनमत दिएको तर्क गर्दै त्यो विश्वास डगमगाउन नदिने प्रतिवद्धता जनाइन् । उनले भनिन्, ‘जनताले नेकपालाई ५ वर्षको जनमत दिनुभएको थियो । त्यो विश्वास डगमगाउन दिन्न, बरु थप सशक्त बनाउँछु ।’