कार्तिक २२ गते २०७६

ताजा समाचार

कार्तिक २२ गते २०७६

बागलुङमा नेकपाका नेता शेरमानको ‘बागी’ उम्मेदवार



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन लिएर राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको बाग्लुङ-२ (ख)मा नेकपा कै नेता शेरमान घर्तीमगरले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रस्तावकमा ददिराम शर्मा र रिमबहादुर विकको समर्थकमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उनले आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन् ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट ढोरपाटन नगरपालिकाको मेयरमा पराजित ४९ वर्षीय घर्ती राष्ट्रिय जनमोर्चा परित्याग गरी तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै नेकपाका नेता बनेका उनले पुनः जनमोर्चालाई नै भोट हाल्नुपर्ने बाध्यता पीडाजनक भएको भन्दै उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले आफू अहिलेसम्म नेकपाको सदस्य पनि नभएको जिकिर गर्दै पार्टीको कुनै कारबाहीबारे आफूलाई चिन्ता नभएको र आफूले उम्मेदवारी फिर्ता पनि नगर्ने बताएका छन्।