कास्की-२ : हाम्री ‘बहिनी’ लैजाने, हामीसँगै सहयोग माग्ने ?

मंसिर १४ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा आफ्ना उम्मेदवारलाई सहयोग गर्न साझा पार्टीले मागेको सहयोग नेपाली कांग्रेसले अस्वीकार गरिदिएको छ।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई मंगलबार भेटेर कास्की-२ मा रजनी केसीलाई जिताउन सहयोग गर्न आग्रह गरेका थिए।

साझाको प्रस्तावलाई अस्वीकार गर्दै कांग्रेसले पूराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने भएको छ।

‘प्रवक्ता शर्मालाई भेटेर साझालाई कास्की-२ छाड्न आग्रह गरेको थिएँ,’ साझाका प्रवक्ता आचार्यले भने, ‘पदाधिकारी बैठकमा कुरा राखेर जवाफ दिन्छु भन्नुभएको थियो। तर कांग्रेसले अहिलेसम्म कुनै जवाफ भने दिएको छैन।’

कांग्रेसले साझालाई किन छाडिदिनुपर्ने ?

आचार्यले कांग्रेसलाई पहिले लगाएको गुन सम्झन आग्रह गरे। ‘हामीले राष्ट्रियसभामा कांग्रेसलाई सहयोग गरेका थियौं, राधेश्याम अधिकारीका निम्ति,’ आचार्यले भने, ‘प्रतिपक्षी दल विभाजित भएर चुनावमा जानुभन्दा सहकार्य गरेर अघि बढ्न कांग्रेसलाई कास्की-२ छाड्न भनिएको हो।’

उनले उपनिर्वाचनमा कांग्रेससँग साझाको चुनावी तालमेल भने नहुने बताए। ‘एउटा क्षेत्र कास्की २ मामात्रै कांग्रेससँग सहकार्यका लागि कुरा भएको हो, अरू क्षेत्रका लागि होइन। हामी चुनावी तालमेलमा पनि छैनौं,’ आचार्यले भने।

कास्की २ छोड्न साझाको प्रस्तावलाई कांग्रेसले कसरी लिएको छ? भन्ने प्रश्नमा प्रवक्ता विश्वप्रकाश शर्माले त्यो क्षेत्र छोड्न नसकिने प्रतिक्रिया दिए। ‘हामी आफ्नै पार्टीबाट उम्मेदवार उठाउँदैछौं,’ शर्माले भने, ‘गणित (भोट) का हिसाबले पनि निकै कमजोर रहेको साझालाई क्षेत्र छोड्ने अवस्था नै हुन्न।’

कांग्रेसले आफ्नो नेतृ साझामा प्रवेश गराएर चुनावी सहयोग मागेकोले पनि सहयोग गर्न नसकिने प्रतिक्रिया पनि दिएको छ। 

शर्माले ठट्यौली शैलीमा आचार्यलाई, ‘हाम्रै बहिनी लैजाने अनि हामीसँगै चुनावमा सहयोग माग्ने? कास्की २ छाड्न सकिन्न,’ भनेको बताए। नेपाल महिला संघमा काम गरेकी केसी केही समयअघि कांग्रेस परित्याग गरी साझा पार्टी प्रवेश गरेकी थिइन्।