हक्की कमान्डरको सेरेमोनियल स्वरुप

अमिक शेरचन नेकपाका पाका र इमान्दार नेता हुन् । कुनै समय राष्ट्रपति हुने चर्चासमेत भएका शेरचन गण्डकीका प्रदेश प्रमुख बनेका छन् । दोस्रो जनआन्दोलनका कमान्डरमध्ये १ शेरचन माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री थिए ।

मोटरसाइकल लिएर मन्त्री परिषद् बैठकमा जाँदा सिंहदरबारको गेटबाट फर्काइएका उनी त्यसपटक बैठकमै गएनन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादका विश्वासपमात्र समेत रहेका उनी नेतृत्वको जनमोर्चा नेपाल माओवादी शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादीसँग एकीकृत भएको थियो ।

एकै मन्त्री मण्डलमा उपप्रधानमन्त्री रहेका अर्का नेता केपी शर्मा ओली
नेतृत्वको सरकारको नियुक्तिबाट प्रदेश प्रमुख बनेका छन् । सक्रिय राजनीति छाडेर प्रदेश प्रमुख बनेका उनले बुधबार पदभार ग्रहण गरे । सरकारले २० महिनापछि सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी एकै पटक पार्टी नेताहरुलाई प्रदेश प्रमुख बनाएको हो ।

बुधबार जहाजमा श्रीमती शान्तिसहित पोखरा आएका उनले प्रदेश प्रमुखको कार्यालयमा प्रवेश गरी नेपाली सेनाको सलामी लिए । शेरचन कार्यालयमा भएको पूजामा पनि सहभागी भए । उनले पण्डितलाई टीका लगाइदिनबाट राकेनन् । उनकी श्रीमती शान्तिले भने टीका लगाइनन् ।

कार्यकक्षमा पुगेर पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनलाई कामु मुख्यमन्त्री किरण गुरुङ्, सभामुख नेत्रनाथ अधिकारी, विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली लगायतले स्वागत गरे ।

मञ्चमा पुगेपछि प्रदेश प्रमुख शेरचनले माला र सादा फुकाले । सादगी र इमान्दार नेता शेरचन माला, पूजापाठमा विश्वास गर्दैनन् । शेरचनलाई सजिलो बनाउन कामु मुख्यमन्त्री गुरुङले भने, ‘उहाँले हाम्रो स्वागत, माला स्वीकार्नु भएको छ, अब फुकाले पनि फरक पर्दैन ।’

ठूलो त्यागपछि अहिलेको परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिक्रिया दिए । उनले भने, ‘प्रदेश प्रमुखको अधिकार के के छ, कसरी काम गर्ने मलाई थाहा छैन । तपाईहरु सबैसँग छलफल गरेपछि काम सुरु गर्छु ।’

लामो समय सक्रिय राजनीति गरेका शेरचन सेवा निवृत्त कर्मचारीहरु नियक्त हुने खालको पदमा नियुक्त भएका छन् । मुस्ताङ पुख्र्याैली भई म्याग्दीमा जन्मिएर चितवनमा बसोबास गर्ने शेरचनले आफ्नै पुख्र्यौली थालथलो पर्ने गण्डकीमा प्रदेश प्रमुखको जिम्मा पाएका छन् । उनको सेरेमोनियल स्वरुप कस्तो होला, उनको कार्यप्रणालीले केही समयमा प्रकाश पार्ने नै छ ।