कांग्रेसमा उमेदवार टुंगो लगाउने जिम्मा सभापति देउवालाई

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले आशन्न उपनिर्वाचनका लागि उमेदवारहरुको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

देउवाको निवासमा आज बिहान बसेको बैठकले सिफारिस भएर आएका नामहरुको बारेमा छलफल गरेपछि अन्तिम टुंगो लगाउने जिम्मा देउवालाई दिएको हो । 

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले अन्तिम नामावली टुंगो लगाएर आजै सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ । 

हिजो पनि देउवा निवासमा उमेदवारकै लागि कांग्रेस पदाधिकारी बैठक बसेको थियो । १० घण्टा लामो बैठक बसे पनि उमेदवारको टुंगो लगाउन सकेको थिएन । 

दिनभरीमा उमेदवारको टुंगो नलागेपछि बैठकमा संस्थापन पक्षले उमेदवारको निर्णय गर्ने जिम्मा सभापति देउवालाई दिन प्रस्ताव गरेका थिए । तर, संस्थापन इतर समूहले भने त्यसमा असहमति जनाएको थियो । 

अन्य क्षेत्रका उमेदवारको लगभग सकिए पनि कास्की २ मा समस्या भएको छ । कास्की २ मा १६ जना उमेदवारको नाम सिफारिस गरिएको थियो ।