नेपाली कांग्रेसले कास्की क्षेत्र नं. २ का लागि केन्द्रीय सदस्य धनराज गुरुङलाई उम्मेदवार बनाउने सम्भावना बढेर गएको छ ।
पार्टीको केन्द्रीय पदाधिकारीको छलफल र आशय हेर्दा धनराज गुरुङको सम्भावना बढेको छ । धनराज गुरुङलाई नै उम्मेदवार बनाउन यति ढिलाई र झमेला गरिरहेको कास्की कांग्रेसका नेताहरूको बुझाइ छ ।
बाहिरको उम्मेदवार पठाए फिर्ता पठाउने कास्की कांग्रेसको चेतावनी पछि हच्किएका केन्द्रीय सभापति देउवा धनराजलाई नै अन्तिम समयमा पठाउने दाउमा रहेको स्रोत बताउँछ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल निकट एक नेताले भने, ‘कास्की कांग्रेसको चेतावनसंगै हच्किएका देउवाको मनसाय उम्मेदवारी मनोनयनको अन्तिम समयमा टिकट दिएर धनराज गुरुङलाई पठाउने देखिन्छ ।’
स्रोतका अनुसार कास्की २ मा प्रतिनिधि सभा तर्फको उपनिर्वाचनका लागि नेता धनराज गुरुङलाई उम्मेदवार बनाउन नेताहरु सहमत भइसकेका छन् ।
कास्की २ मा उम्मेदवारका लागि गुरुङसँगै देवराज चालिसे र खेमराज पौडेल पनि दावेदार छन् । तर प्रदेशसभातर्फ भक्तपुर १ ‘क’, दाङ ३ ‘ख’ तथा बाग्लुङ २ ‘ख’ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरु बीच सहमति जुटेको छैन ।
सभापति देउवाले जसरी भए पनि धनराजलाई नै पठाउन चाहेको र वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, नेता कृष्ण सिटौलाले त्यसमा सहमति नभएकाले उम्मेदवारको टुंगो नलागेको स्रोत बताउँछ ।
देउवा इतरका नेताहरूले भने देवराज चालिसे या खेमराज पौडेलको पक्षमा देखिएको बताइन्छ । कास्की कांग्रेसको चेतावनी र कास्की–२ को माहोल नेता गुरुङको पक्षमा नभएको उनीहरूको बुझाइ छ ।
पार्टीभित्र वौदिक र राम्रा छवि भएका नेता धनराजलाई अघिल्लो निर्वाचनमा उठाउन नसक्दा सभापति देउवाले पछुतो मान्दै आएको र वेला बखत यस्ता कुरा पनि गर्ने गरेको उनी निटक एक नेताले बताए ।
देउवाले यो चुनावसंगै पार्टीको आशन्न चुनावलाई समेत सोचेर नेता गुरुङलाई उम्मेदवार बनाउन बल गरिरहेको उनले बताए ।
उम्मेदवारहरू पार्टी भागवण्डामा कास्की–२ वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा परेको छ । तर देउवाले पौडेललाई अन्य सबै क्षेत्र सुम्पिएर भए पनि नेता गुरुङलाई पठाउन चाहेको बताइन्छ ।
यसअघि कृष्ण सिटौलाले पनि देवराज चालिसेको नाम प्रस्ताव गरेपछि सशंकित बनेका पौडेल देउवाको यो प्रस्तावमा लचिलो हुने संकेत दिएको बताइन्छ ।
यसैबीच अन्तिम समयमा नेता गुरुङलाई नै उम्मेदवार घोषणा गर्दै उनलाई साथमै लिएर सभापति देउवा र वरिष्ठ नेता पौडेल स्वयं उम्मेदवारी मनोनयका लागि आउने तयारी भएको बताइन्छ ।
पार्टीभित्र भइरहेको रस्साकस्सीले कास्कीका सम्भावित र आकांक्षी उम्मेदवारहरू भने निकै निराश बनेका छन् । उनीहरूले निराशाजनक नै अभिव्यक्ति दिइरहेका छन् । उनीहरू भन्छन्, ‘राजनीति हामीले बुझनै सकेनौं ।’






