कास्की-२ : रजनी केसीलाई सघाउन साझाको प्रस्ताव, कांग्रेसद्धारा अस्वीकार

कास्की क्षेत्र नं. २ मा हुने आशन्न उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई सघाउन साझा पार्टीले नेपाली कांग्रेससंग प्रस्ताव गरेको छ ।

तर उक्त प्रस्ताव अस्वीकार गरेको नेपाली कांग्रेले जनाएको छ । कांग्रेसको बैठकबाटै उक्त प्रस्ताव अस्वीकृत भएको बताइन्छ ।

कास्की–२ मा साझाले रजनी केसीलाई उम्मेदवार बनाएको छ । उनी केही अघिमात्रै नेपाली कांग्रेस पार्टी छाडेर साझा पार्टीको उम्मेदवार बन्न पुगेकी थिइन् ।

साझाका संयोजक रविन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले कांग्रेस नेताहरूलाई टेलिफोन गरी केसीलाई सघाए अन्यत्र कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेको बताइन्छ ।

जवाफमा कांग्रेसले अन्यत्रको बारेमा सोच्न सकिने तर कास्की–२ छाड्न नसकिने स्पष्ट पारेको बताइन्छ ।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पनि कास्की २ मा आफूहरूलाई समर्थन गर्न कांग्रेसलाई आग्रह गरेको स्वीकार गरे ।

राष्ट्रियसभामा आफूहरुले सहयोग गरेको भन्दै उनले भने, ‘अहिले विपक्षीहरू एकठाउँमा आएको सन्देश दिनु राम्रो भएकाले सद्भाव राखेर कास्की–२ मा हामीलाई छाड्नुस् भनेका हौं ।’

यसका लागि कांग्रेस तयार भएमा थप छलफल गर्न आफूहरू तयार रहेको उनले बताए । अघिल्लो चुनावमा साझाले ८ सय र ४३ भोट ल्याएको थियो ।