समाजवादीबाट धर्मराज, कसैसँग तालमेल नगर्ने


मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले कास्की नम्बर २ मा धर्मराज गुरुङ उठ्ने भएको छ । समाजवादीले यो निर्वाचनमा कसैसँग तालमेल नहुनेसमेत प्रष्ट पारेको छ ।

पार्टीले मंगलबार पत्रकार सम्मेलन गरी उम्मेदवारका साथमा प्रतिबद्धता पनि सार्वजनिक गरेको छ । उम्मेदवार गुरुङले सबैलाई समान र सम्मान हुने ऐन कानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘पार्टीले विश्वास ग¥यो, अब जनताको विश्वास हेर्छाैं ।’

गुरुङले बेलायती सेनामा २४ वर्ष र संयुक्त राष्ट्र संघमा १५ वर्ष काम गरेका छन् । उनले आफूले जिते शासक, प्रशासकको अवैध सम्पत्ति छानबिन गर्ने जनाए । समाजवादी र नयाँ शक्ति नेपालबीच एकीकरण भएपछि पार्टीको लोकप्रियतासमेत निर्वाचनबाट परीक्षण हुने नेताहरु बताउँछन् ।

पार्टीका गण्डकी इन्चार्ज गणेशमान गुरुङले संघीयता र परिवर्तनको जननी समाजवादी पार्टी भएकाले जनताले सही शक्ति पहिचान गर्ने बताए । उनले भने, ‘बाँदरले फलको रक्षा गर्छ र ? संघीयता, पहिचान र समानताका लागि जनताले हामीलाई जिताउँछन् ।’ उनले कुनै पार्टीसँग तालमेल नहुने र चाडै पार्टीले सरकार छाड्ने दाबीसमेत गरे ।

पार्टीका कास्की अध्यक्ष गिरिप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चुनाव प्रचारप्रसार समिति कास्की संयोजक हुम तमुले पनि बोलेका थिए ।