अन्तर्घातको कल्पना गर्दिनँ : विद्या

कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराईले पार्टीले सर्वसम्मत उम्मेदवार बनाएकाले अन्तर्घातको कल्पनै नगरेको जनाएकी छन् । उनले आफूमात्र होइन, कसैमाथि पनि अन्तर्घात हुन नहुनेमा जोड दिइन् ।

दैनिक जीवनसँग जोडिएका कुरा र सरकारले गरेका सकारात्मक कुरा जनताको माझमा लिएर चुनावी प्रचार अभियानमा लाग्ने उनको भनाइ छ । जिल्लाले सर्वसम्मत उनको मात्र नाम सिफारिस गर्दा प्रदेशलाई ३ जनाको नाम पठाउन आफैंले अनुरोध गरेको उनले सुनाइन् । भट्टराईले भनिन्, ‘मैले नै अनुरोध गरेकी हुँ । अब चित्त दुखाइ हुन्न ।’

अनुहारमा रवीन्द्र देखाएर चुनाव जित्ने र दयाको पात्र नबन्ने स्पष्ट पार्दै उनले थपिन्, ‘अलिकति सद्भाव, सहानुभूति त मप्रति पक्कै छ । पीडा देखाउने होइन, लुकाउने कुरा हो । मलाई अहिले पनि आँसुको राजनीति भन्लान् तर म कतै रोएर जान्न, अलिअलि बाँकी रहेछ आँसु भने पनि सकेर जान्छु ।’

हरेक कुरासँग जुध्न सक्ने साहास हुनुपर्छ भन्ने रवीन्द्रको भनाइले आफूलाई सधै ऊर्जा दिइरहेको उनले जनाइन् । अनेरास्ववियु केन्द्रीय सचिव भइसकेकी विद्याले परिस्थीतिले फेरि सक्रिय राजनीतिमा आउन तयार बनाएको बताइन् ।

त्रिविकी उपप्राध्यापक उनलाई नेकपाले कास्की २ बाट निर्वाचित रवीन्द्र अधिकारीको निधनपछि उम्मेदवार बनाएको हो । उनले भनिन्, ‘व्यक्तिलाई समाजसँग जोड्ने घटनाहरु नै हुन् । मैले मेरो दुःख भन्दा सिंगो देशसँग जोडिएर जानुपर्छ भन्ने ठानें ।’

३ पटक रवीन्द्रले चुनाव जितेको क्षेत्रमा आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको उनको दाबी छ । उनले थपिन्, ‘उहाँले ३ पटक जित्दा विद्याको पनि सम्बन्ध छ नि जनतासँग ।’
दुवै तिरका परिवारको सल्लाह र नेकपा जिल्ला कमिटीको सर्वसम्मत निर्णयपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको अनुरोधमा आफू उम्मेदवार बनेको उनको भनाइ छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनले अन्तिम संस्कार ७ दिनमै सकेकी थिइन् । यसबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘ रवीन्द्र संस्कृति मन्त्री, रवीन्द्रले भनेको कुरा आफ्नै जीवनमा लागू गर्नुपर्छ भनेर त्यसो गरिएको हो ।’

संस्कृति मानिसको जीवनसँग जोडिनुपर्ने र संस्कृति जीवन बदलिँदासँगै बदलिने उनको भनाइ छ । काठमाडौंबाट प्रशारण हुने एक टेलिभिजनसँग सोमबार कुराकानी गर्दै उनले यस्तो बनाएकी हुन् ।