जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारको क ब्लकमा राखिएको छ । डिल्लीबजार कारागारमा दुईवटा ब्लक छन् ।
क ब्लकमा रहेका महरा पूर्वआईजीपी रमेशचन्द ठकुरीको ‘रुममेट’ रहेको स्रोतले जानकारी दियो । उनीहरुसँगै पूर्वडीआईजी रञ्जन कोइराला पनि रहेका छन् ।
ठकुरी सुडान घोटाला काण्डका भ्रष्टाचारको आरोपमा जेल चलान भएका हुन् भने कोइराला श्रीमती हत्या अभियोगमा ।
सुडानको डार्फरमा सुरक्षाकर्मी आर्म्ड पर्सनल केरियर (एपीसी) लगायतका बन्दोबस्तीका सामग्री खरिदमा घोटाला भएको ठहरसहित ठकुरीलाई एकवर्ष जेल सजाय र ४० हजार जरिबाना हुने सजाय सर्वोच्चले सुनाएको थियो ।
ठकुरीसँगै पूर्वआईजीपीहरु हेमबहादुर गुरुङ, ओमविक्रम राणालाई पनि जेल सजायको फैसला भएको थियो ।
करिब एक महिना थापाथलीस्थित नर्भिक अस्पतालमा बिताएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगत्तै उनलाई डिल्लीबजार लगिएको थियो ।
अब उनी मुद्दाको अन्तिम फैसला नभएसम्म जेलमै बस्नुपर्नेछ या साधारण तारखेमा रिहाइका लागि उच्च अदालत जानुपर्नेछ । उनका कानुन व्यवसायीहरुले भने अब उच्च अदालतमा जाने बताएका छन् ।






