कास्की २ अहिले देशभर चर्चामा छ । नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । साझा पार्टी, समाजवादी, विवेकशील र रप्रपाले पनि उम्मेदवार छानिसकेका छन् ।
विद्याले टिकट पाएपछि नेकपा कास्कीले चुनावी तयारी थालेको छ । उनको चुनावी अभियानको कमान्ड नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ करनले सम्हालेका छन् । उनी उम्मेदवारका आकांक्षीसमेत थिए । सोमबार भएको बैठकले चुनावी तयारीका लागि २७ वटा उपसमिति र करणको नेतृत्वमा निर्वाचन मूल कमान्ड समिति बनाएको छ ।
नेकपा कास्की अध्यक्ष ककृष्णबहादुर थापाको नेतृत्वमा २ हजार ६ सय ५१ जना सदस्य रहेको निर्वाचन परिचालन समिति समेत गठन भएको छ ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुन लागेको यो देशभरमै एकमात्र क्षेत्र हो । ३ पटक रवीन्द्र जीतेको यो क्षेत्रमा गएको चुनावमा ८ हजार ५ सय ४६ मतान्तर थियो ।
कांग्रेसले उम्मेदवार चयन गरी सकेको छैन । रवीन्द्रकै प्रत्यासी देवराज चालिसे विद्याको प्रतिश्पर्धी हुन सक्ने अनुमान गरिएको छ । सोमबारको बैठकमा सहभागी विद्या काठमाडौं फर्किएकी छन् । चाडै त्यहाँको काम सकेर उनी चुनावी अभियानका लागि कास्की आउनेछिन् ।






