जिविसको यो लेटरप्याड सक्कली हो कि नक्कली ? माग्नेका लागि बनाएकै हो यस्तो अपिल ?

यो कागज अनुसार यी व्यक्ति राजकुमार पाण्डे हुन् । फेवाताल छेउमा बस्ने भन्ने उल्लेख छ । उमेर खुलाइएको छैन तर अन्दाजी २९/३० वर्षका भए होलान् ।

यी निकै फुर्तिला र स्वस्थ देखिन्छन् । यिनको मात्र जिब्रो छैन । ३ दाजुभाई र ४ दिदीबहिनी रहेको तर अभिभावकविहीन भएको अपिलमा उल्लेख छ । यत्तिका उमेरका र यत्तिका हट्टकट्टा व्यक्ति मागेरै जीविका चलाउँछन् ।

नेपाल सरकार, जिल्ला विकास समिति, फेवाताल कास्की, पोखराको लेटरप्याडमा लेखिएको अपील बोकेर माग्दै हिंड्छन् ।

अपिल कहिले बनाइएको हो मिति उल्लेख छैन । यो लेटरप्याड नक्कली हो भन्ने अनुमान सहजै सकिन्छ । यो लेटरप्याड, यसमा लगाइएको छाप, त्यसमा उल्लेख भएका ठेगानाले पनि यो अपिल नक्कली हो भन्ने आधार छ ।

जिविस खारेज भएर जिसस भएको वर्षौं भैसकेको छ तर यी पाण्डेले अझै जिविसको नामको लेटरप्याडमा अपिल बोकोर माग्दै हिंडिरहेका छन् ।

माग्न पनि शुल्क तोकेरै माग्छन् । अपिलमा २००, ४०० र ५०० सहयोग गर्नुहोला भनेर उल्लेख गरिएको छ । १०÷२० रुपैयाँ दियो भने लिन मान्दैनन्, हात हल्लाउँदै अपिल देखाउँछन् । अझ अपिलमार्फत नै साडीसम्म मागिएको छ ।

अपिलमा पनि सहयोग गरेमा तपाइँको बच्चालाई पशुपतिनाथले कल्याण गर्नुहुनेछ भन्ने उल्लेख छ । अपिलमा नै रकम तोकेर माग्दै हिंडनु सरासर ठगी हो । यसमा सम्बन्धित निकाय तथा जिससको ध्यान जान आवश्यक छ ।