नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो ।
अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताएका थिए । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन ल्याउन सुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको थियो ।




