सेफ किड्समा बाल दिवस

पोखरा महानगरपालिका–९, नयाँबजार दरबारथोक मार्गस्थित सेफ किड्स प्रिस्कुलमा विभिन्न क्रियाकलाप सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा बालिकाहरुको सामाजिक विकास, अनुशासन पालना तथा मनोरञ्जन गराउने उद्धेश्यका साथ विभिन्न खेल तथा मनोरञ्जनात्मक क्रियाकलाप गरिएको प्रिन्सिपल नारायणी कोइरालाले बताइन् ।

कार्यक्रममा नर्सरी, केजी १ र केजी २ कक्षाका २ देखि ७ वर्ष उमेरसम्मका ५८ जना बालवालिकाले भाग लिएका थिए।

‘उमेर अनुसारको वाल केन्द्रित खेल तथा चित्रकलाले सानैदेखि बालवालिकामा असल संस्कारको विकास, नियम पालना गर्ने, धैर्य गर्ने बानीको विकास हुन्छ । उनीहरूलाई प्रारम्भिक बाल्य अवस्था देखिनै यस्ता अवसरहरु प्रदान गर्नुपर्ने भएकाले कार्यक्रम गरिएको हो’, प्रिन्सिपल कोइरालाले भनिन् ।

शिक्षक विनिता गुरुङको संयोजनमा भएको कार्यक्रममा अम्विका गुरुङ, रमिला गुरुङ्ग, रीतु गुरुङ लगायतले बालेका थिए भने व्यवस्थापन देवकी थापाले गरेकी थिइन् ।