चिकित्सा शिक्षा आयोगमा प्रा. डा. श्रीकृष्ण गिरी नियुक्त

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका गिरी उपाध्यक्ष बन्न सफल भएका हुन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भु कुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी अन्तिम तीनको सूचीमा परेका थिए । उनीहरुमध्ये सरकारले गिरीलाई छनोट गरेको हो ।

प्रा.डा. गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रजिष्ट्रार हुन् । विगत ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जनको कार्यरत छन् । डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् ।

गिरिराजमणि पोखरेल स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा मन्त्रालयको महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखाको प्रमुख रहेर उनले काम गरेका थिए । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समितिको संयोजकको रुपमा पनि रहेका छन् ।

उनले चिकित्सा शिक्षा ऐन शुल्क निर्धारण समितिमा रहेर पनि काम गरेका थिए ।