राजपाका अध्यक्षहरूबीच पानी बराबार, पार्टी फुट्दै त छैन ?

राष्ट्रिय जनता पार्टी नेपालभित्र सुरु भएको गुटबन्दी र विवाद यसरी बढेको छ कि अहिले अध्यक्ष मण्डलकै सदस्यहरूवीच बोलचाल बन्द भएको छ । समाजवादी पार्टीसँग एकीकरण गर्ने विषयमा सुरु भएको विवाद अहिले वार कि पारको स्थितिमा पुगेको छ ।

अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र अनिल झा एकातिर छन भने बाँकी ४ जना अध्यक्षहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरतसिंह भण्डारी अर्कोतिर छन् । सुरुमा झा–राजकिशोरलाई साथ दिएका ठाकुर अहिले महतो, यादव र भण्डारीको पक्षमा उभिएका छन् ।

पार्टी भित्र सुरु भएको यो विवाद अहिले यस्तो स्थितिमा पुगेको छ कि, एउटा पक्षले बोलाएको बैठकमा अर्को पक्ष जाने गर्दैनन् । महतो र झावीच अहिले बोलचाल बन्द भएको छ । यी १ नेता पार्टी कार्यालयमै भए पनि अलग अलग कोठामा बस्ने गर्छन् । एक अर्कोलाई भेट्दैनन् पनि ।

शुक्रबार र शनिबार अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएका छन् । उक्त बैठकमा ठाकुर, महतो, यादव र भण्डारीले नजाने घोषणा गरेका छन् ।

झा–राजकिशोर पक्षधर पदाधिकारी मात्र उक्त बैठकमा जाने भएका छन् । गत भदौ २ गते संयोजक यादवले बोलाएको अध्यक्ष मण्डलको बैठकमा महतो र भण्डारी काठमाडौ हुँदा हुदै पनि बैठकमा सहभागी भएनन् । त्यसपछि राजपाभित्रको विवाद सडकमै आएको हो ।

समाजवादी पार्टीसँग पार्टी एकीकरण नजिक पुगेको बेला राजपाका अध्यक्ष मण्डलका सदस्यहरू २ कित्तामा उभिनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ । झा र राजकिशोर एकीकरणको विपक्षमा उभिएका छन् भने समाजवादी पार्टीसँग एकीकरण गर्न राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र यादव सक्रिय भएर लागेको छन् । राजपाको आगामी महाधिवेशन अघि नै समाजवादी पार्टीसँग एकीकरण गर्ने उनीहरूको तयारी छन । सकेसम्म भदौ महिनाभित्रै एकीकरण गर्ने तयारी भएको स्रोतको भनाइ छ ।

राजकिशोर र झा पक्षधरहरू भने राजपाको महाधिवेशन पछि मात्र पार्टी एकीकरण गर्नु पर्छ भन्ने लाइनमा सक्रिय भएर लागेका छन् । वार्ता टोलीका संयोजकको जिम्मेवारी पाएका महतोले भने समाजवादी पार्टीसँग एकीकरण गर्न करिब करिब सबै टुंग्याएका छन् ।

स्रोतका अनुसार २ पार्टीवीच भएको सहमतिमा एकीकृत पार्टीमा ४ जना अध्यक्ष राख्ने, पहिले अध्यक्ष ठाकुर, दोश्रो अध्यक्ष बाबुराम भट्टराइ, तेश्रो अध्यक्ष उपेन्द्र यादव र चौथो अध्यक्ष महतो हुने सहमति भएको छ ।

यसैगरी एकीकृत पार्टीको संसदीय दलको नेता महेन्द्र यादव हुने सहमति भएको छ । भण्डारीलाई पनि कुनै महत्वपूर्ण जिम्मेवारी दिएको सहमति भएको छ । तर झा र राजकिशोरको हकमा भने केही सहमति भएको छैन ।

‘त्यसैले उहाँहरू (अनिल झा र राजकिशोर) एकीकरणको विरोधमा हुनुहुन्छ । एकीकरण पछि उहाँहरूको राजनीतिक भविष्य संकटमा पर्छ’ अनिल-राजकिशोर निकट स्रोतले भन्यो । समाजवादी र राजपावीचको एकीकरण प्रयास तुहियो भने आगामि कात्तिकमा राजपाको महाधिवेशन हुने छ ।

प्रत्येक २–२ महिनामा चक्रीय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने विधानमा राखिएको व्यवस्था अनुसार १ महिनादेखि अध्यक्ष मण्डलको संयोजक राजकिशोर छन् । उनले सोमबार अध्यक्ष मण्डलको बैठक बोलाएका थिए । तर महतो र भण्डारी भने बैठकमा गएनन् ।

महतो र भण्डारी बैठकमा नजाने वित्तिकै अध्यक्ष मण्डलको बैठक बस्न सकेन । राजपाको विधानमा अध्यक्ष मण्डलको बैठक बस्नलाई ६ जना अध्यक्ष अनिवार्य उपस्थिति हुनु पर्ने व्यवस्था गरिएको छ । १ जना अध्यक्ष मात्र अनुपस्थित भएमा बैठक बस्न नसक्ने व्यवस्था विधानमा गरिएको छ ।

अब १ महिना पछि राजपाको अध्यक्ष मण्डलको संयोजकमा पुन ठाकुर हुने छन् । ठाकुर अध्यक्ष मण्डलको संयोजक हुने वित्तिकै समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने तयारी महतो, भण्डारी र महेन्द्रको छ ।

समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्न राजपाले महतोलाई वार्ता टोलीको संयोजक बनाएको छ । संयोजक भएको हैसियतले पनि महतोले बाबुराम र उपेन्द्रसँग पटक–पटक वार्ता गरेका छन् । महतोलाई वार्ता टोलीको संयोजक बनाइएकोमा अनिल र राजकिशोरलाई मन परेको छैन ।

अध्यक्ष मण्डलको बैठक बोलाएर महतोलाई वार्ता टोलीको संयोजकबाट हटाउने झा र राजकिशोरको तयारी छ । सोमबार बैठक भएको भए उक्त बैठकमा झा र राजकिशोरले यस्तो प्रस्ताव ल्याउने तयारी गरेका थिए । तर राजकिशोर संयोजक भएको बेला अध्यक्ष मण्डलको बैठक नै बस्न सक्ने स्थिति छैन ।

२०७४ वैशाखामा तत्कालिन ६ तराइ मधेस केन्द्रित दलबीच एकीकरण भइ राजपा गठन गरिएको थियो । यसअघि १ पटक राजपाको महाधिवेशनको मिति तय भएर पनि स्थगित भएको छ । समाजवादी पार्टी र राजपावीच एकीकरण नभएमा कात्तिकमा राजपाको महाधिवेशन हुने सम्भावना कम देखिएको छ ।