सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाने भएपछि प्रचण्डले पहिलो पटक पूर्णकार्यकारी अधिकार प्राप्त गरेका हुन् ।
प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि आज अपराह्न सिङ्गापुर प्रस्थान गर्दै छन् । ओली ७/१० दिन त्यहाँ रहने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी आजको बैठकमा भएको जानकारी दिएका छन् ।




