प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने तयारी !

यतिबेला पदीय हैसियतले नेकपामा विवादका साथै नयाँ तरंग उत्पन्न भएको छ । नेता–नेताबीचको असन्तुष्टि सतहमा आएका छन् ।

यो विवाद विशेषगरि पूर्व एमालेका नेताहरुको हो । यसअघि तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई चौथोमा झार्दै अर्का वरिष्ठ नेता झलनाथ खनाल तेस्रोमा उक्लिन सफल भएपछि यो विवाद सतहमा आएको हो ।

आइतबार बसेको पार्टी बैठकबाट खनाल बढुवा भएका हुन् भने नेपाल घटुवा भएका हुन् । पार्टीको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले नोटअफ डिसेन्ट लेखेका थिए ।

नेकपामा यस्तो तरंग सेलाउन नपाउँदै अर्को तरंग शुरु भएको छ । जुन तरंग पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने हो ।

यो निर्णय केही समयपछि हुने नेकपा स्रोतले जनाएको छ । प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासन पछि प्रचण्ड झलनाथलाई तेस्रो वरियता दिन र नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउन तयार भएको बताइन्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य उपचारका लागि भदौ ५ गते सिंगापुर जाँदैछन् । उनी सिंगापुरबाट फर्किएपछि बैठक बसेर प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने तयारीमा छन् ।

नेकपाका वरिष्ठ नेता नेपाल पक्षको दाबीअनुसार सिंगापुरबाट फर्किएलगत्तै ओलीले प्रचण्डलाई एकल अध्यक्ष सुम्पने तयारी गरेको स्रोतको भनाइ छ ।

१३ महिनापछि सहमतिअनुसार सरकारको नेतृत्व पनि हस्तान्तरण गर्नेछन् । ‘पार्टी र सरकारको उधारो चेक पाएपछि फुरूङ्ग हुँदै’ प्रचण्ड ओली कित्तामा उभिन पुगेको नेपाल पक्षको बुझाइ छ ।

यही कारणले हुनुपर्छ, आइतबारको बैठकमा अध्यक्षद्वयको कार्यविभाजनको कुरा पनि नेपालले उठाएका थिए । एउटा अध्यक्ष सरकार प्रमुख रहेकाले अर्को अध्यक्षले पार्टी अध्यक्षको कार्यकारी भूमिका पाउनुपर्ने उनको भनाइ थियो । तर, प्रचण्डले ओलीकै बोलीमा लोली मिलाउँदै ‘अहिले ओलीको इच्छाअनुसार हुने’ बताएका थिए ।