शिक्षित भए हेपिनु पर्दैन : उपसभामुख

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रदेश सरकार पूरै प्रदेशलाई साक्षर बनाउन लागेको बताएकी छन् । उनले शिक्षित, जागरुक र सचेत भए हेपिन नपर्ने उल्लेख गर्दै प्रदेश, संघ र स्थानीय सरकारको एकीकृत प्रयास सबै नागरिकलाई साक्षर, सभ्य र समृद्ध बनाउन केन्द्रीत रहेको बताइन् ।

शनिबार समृद्धि टोल विकास संस्था पोखरा १७ सीतापाइलाले आयोजना गरेको कार्यक्रममा उपसभामुख शर्माले भनिन्, ‘शिक्षित र स्वावलम्बी हुनु भो भने श्रीमान्, छोराछोरी, नातिनातिनाको हेला सहनुपर्दैन ।’ उनले परम्परागत मूल्यलाई आत्मसात गर्दै तीज, दसैं, तिहार जस्ता चाडपर्व मनाउनसमेत आग्रह गरिन् । पोखरा महानगरको उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत शैक्षिक सहजता कार्यक्रममा सहभागी भएकाहरुलाई सम्बोधन गर्दै उनले सिकेको कुरा व्यवहारमा लागु गर्न पनि आग्रह गरिन् ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले विकास, समृद्धि, साक्षरता सबैका लागि नेतृत्व क्षमता चाहिने भएकाले क्षमता विकास गर्न आग्रह गरे । उनले पोखरा १७ भूगोल र जनसंख्या दुवै हिसाबले ठूलो र विविधता पूर्ण रहेकाले भूगोल अनुसारकै योजना वडाले बनाएको बताए । वडाध्यक्ष अधिकारीले भने, ‘महतगौंडा, दोबिल्ला क्षेत्रमा खानेपानी पाइप विस्तार हुँदै छ । यो क्षेत्रको विकासका लागि गुरुयोजना पनि बनिसकेको छ ।’ उनले यही आर्थिक वर्षमा महतगौंडाको घुम्ती कटानसहित बाटो विस्तार हुने पनि जानकारी दिए ।

पोखरा महानगरका कार्यपालिका सदस्य राधिका शाही योगीले महिला सचेत र साक्षर नहुँदा झुक्याएर डिभोर्सदेखि अनेक ठाउँमा ठगिनु हेपिनु परेको बताइन् । उनले महिलालाई सशक्तीकरण गर्न महानगर लागिपरेको उल्लेख गरिन् । योगीले भनिन्, ‘यो वर्ष उपप्रमुखसँग महिला कार्यक्रममा लागि महानगरले ३ करोड बजेट छुट्याएको छ । यो कार्यक्रममा विभिन्न योजनामा सहभागी भएर उद्यमी, साक्षर, सचेत हुन र सीप सिक्न यहाँहरुलाई अनुरोध छ ।’

पोखरा १७ वडा सदस्य बैकुण्ठ भण्डारीले महानगर भएर पनि महानगर जस्तो बन्न नसकेका महतगौंडा, दोबिल्ला, लामतरा क्षेत्रको विकासका लागि सबैको एकीकृत प्रयास जरुरी भएको बताए । नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले आमा, हजुरआमा उमेरका महिलाले शिक्षा आर्जन गर्दा समाजलाई उत्प्रेरणा पनि भएको बताए । गोमा पराजुलीले जुनसुकै उमेर भए पनि ज्ञान जरुरी रहेकाले इच्छाशक्ति भए ज्ञानआर्जन असम्भव नरहेको बताइन् । ५५ वर्षकी पराजुली जानकी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्छिन् ।

३ महिने शैक्षिक सहजता कार्यक्रममा करिब ९० जना सहभागी थिए । प्रशिक्षार्थीहरु कमला पाण्डे, जुना गुरुङ र टीका हितानले कार्यक्रमबाट व्यवहारिक र अत्यावश्यक ज्ञान पाएको बताए । उनीहरुले थप शिक्षा दिने खालका कार्यक्रम सञ्चालन गर्नसमेत अनुरोध गरे । पोखरा १७ मा शैक्षिक सहजता कार्यक्रम संयोजक अनिषा बरालले सहभागीलाई जीवनमा अत्यावश्यक ज्ञान व्यवहारिक रुपमा सिकाएको उल्लेख गरिन् ।

समृद्धि टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष फडिन्द्र अकिञ्चनको अध्यक्षता भएको कार्यक्रममा समाजसेवी नगेन्द्र गुरुङ र समूहका सचिव जीवन सुवेदीले पनि बोलेका थिए ।