ताजा समाचार

श्रावण २९ गते २०७६

फुटबल संघमा आवद्धको दुई दशकपछि लिग उपाधि

कास्की लिग फुटबल प्रतियोगिता शुरु भएको पनि १४ वर्ष वित्यो । दोस्रो जनआन्दोलन टुंङ्गिसकेको थियो । कास्की जिल्ला फुटबल संघको नेतृत्व खेमबहादुर गुरुङले लिएका थिए । फुटबल चारैतिर चकमन्नै थियो । उनै गुरुङले कास्की लिग शुरु गरे । फुटबल संघमा आवद्ध भएका क्लबलाई अनिवार्य सहभागित गराई लिगको शुरुवात गरेका थिए । त्यसको वर्षदिनपछि नाम परिवर्तन हुन पुग्यो । तत्कालिन कास्की जिल्ला फुटबल संघका महासचिव बलराम केसीको निधन भएपछि परिवर्तन गरिएको थियो । दोस्रो संस्करणको लिग उदघाटन गरियो । उदघाटनकै दिन केसीको निधन भयो । संघले उनकै सम्झना कास्की जिल्ला लिग फुटबललाई ‘बलराम स्मृति कास्की जिल्ला लिग’मा रुपान्तरण गर्यो ।

फुटबलमा निकै उतार चढाव आयो । त्यही उतार चढाबकै बीचमा धेरै क्लबले च्याम्पियनको हैसियत बनाए । कास्की जिल्ला फुटबल संघमा आवद्ध भएको दुई दशक पछि लेखनाथको आर्दश क्लबले पनि पहिलो पटक लिग उपाधि जित्दै लिग जित्ने क्लबमा आफनो नाम लेखायो । क्लब २०५४ सालमा विधिवत दर्ता भएको थियो । त्यसभन्दा अघि २०४४ सालदेखि तदर्थ समितिकै रुपमा क्लबले आर्दश कप फुटबल प्रतियोगिता आयोजना गर्दै आयो । बीचमा केही वर्ष स्थगित गर्यो । गतवर्ष २४ औं सस्करणको आयोजना गर्दै टुग्यांयो । उपविजेता बन्यो । क्लबको त्यो नै महत्वपूर्ण उपलब्धीको रुपमा थियो । तर अहिले लिग च्याम्पियन बन्दै नयाँ इतिहास कोर्यो ।

लिग उपाधि जित्न १४ वर्ष लाग्यो । निरन्तर फुटबल संघमा आवद्ध भई हरेक लिगमा उपस्थिति जनाउँदै आएको आर्दशले उपाधि जित्नुको स्वाद लिने अवसर कहिल्यै पाएन् । लेखनाथ भण्डारढीकमा आफैंले विदेशी तथा स्वदेशी दातृ निकायको सहयोगमा बनाएको मैदानमा निरन्तर प्रशिक्षणको प्रतिफल भएको क्लबले औंल्याएको छ । क्लबले लिग उपाधि जित्न बाह्य खेलाडीलाई भने निमन्त्रणा गरेन् । ‘लेखनाथकै युवा खेलाडीलाई ५ महिना निरन्तर प्रशिक्षणपछिको प्रतिफल लिग उपाधि हो ।’ क्लबका सचिव पदम गुरुङ भन्छन–‘अब प्रादेशिक लिगको तयारीमा छौ ।’ यो संस्करणको लिगलाई कास्की जिल्ला फुटबल संघले तेस्रो पटक मिति सारेर आयोजना गरेको थियो । घरेलु मैदानमै क्लबले लिगको उपाधि जित्दै इतिहास कोर्दा सबै खेलाडी घरेलु क्षेत्रकै थिए ।

फुटबलमा प्रतिफल पाउन कडा मेहनत चाहिन्छ । कडा मेहनतसँगै टिम स्प्रीट मात्रै उपलब्धी हासिल हुन्छ । ‘बाह्य खेलाडी ल्याउँदा टिम कम्बिेसन मिलाउन कठिनाई हुन्थ्यो । घरेलु युवाहरुलाई नै प्रशिक्षण दिएपछि टिम स्प्रीट देखियो । त्यसले नै उपाधि जिताउने पर्यात्त आधार बन्यो ।’ उनको भनाई थियो । क्लबले आफनै मैदान बनाउन २५ लाख रुपैयाँ खर्चिएको थियो । आफनै मैदानमा संयोगवश लिग पनि त्यही आयोजना गरियो । जसको बढी फाईदा आदर्श क्लबले लियो । अहिले क्लबले मर्सिकोर नेपाल नामक संस्थाको सहकार्यमा विभिन्न विद्यालयस्तरीय खेलकुद कार्यक्रम गर्दै आएको थियो । विदेशी दातृ संस्थाकै सहयोगमा प्यारापिट निर्माण गरिएको छ । त्यसले घरेलु दर्शक उपाधि जिताउन हुटिङ गर्दै १२ औं खेलाडीको रुपमा उत्रिए ।

घरेलु मैदानमा आदर्श क्लबले पोखरा–२५हेमजा स्थित विष्णुपादुका युवा क्लबलाई पराजित गर्यो । स्कोरिङ निस्कियो २–१ गोलको अन्तर । उपाधि जिताउन अनिष बस्नेत र समीर प्रधान नायक बने । प्रतिस्पर्धात्मक गोल भने विकास गुरुङले गरेका थिए । उपाधिसँगै ३० हजार रुपैयाँ आदर्श क्लबले प्राप्त गर्यो । kheladiNews.com