ताजा समाचार

श्रावण १६ गते २०७६

म बोक्सी हुँ सरकार मलाई फाँसी दे !

दुर्बल छु, पातली छु
जिङ्गृङ छ कपाल
युरोपीयन समुद्री किनाराझैँ
छियाछिया फाटेका छन् कुर्कुच्चा
ढ्याब्रा ओठ,ठुला ठुला छन् आँखाहरु
चोलो च्यातिएर दुबै स्तन देखिएका छन्
साडि खुम्चिएर गुप्तङ्ग सम्म पुगेको छ
हो,यही हो मेरो दृश्य चित्र

खाद्यान्न अन्तै कतै सजाइएको छ
छानीछानी खाएर सम्भ्रान्तहरुले
फ्यालिएकोछ,सडक ,चोक र गल्लीहरुमा
हो,त्यही थुप्रो उधिनेर खाइरहेछु म
छानीछानी परिकार

छन् ,धेरै छन् मेरा त्यस्ता साथिहरु
जो साँझ बिहान उधिन्छन्
त्यही फोहोरको थुप्रो र तिम्रै आँखाअगाडी
खाइदिन्छन् ग्वाम ग्वामी

सडककै त हो हाम्रो ओछ्यान
तिमी पाँच तारे होटेलबाट फर्किदा
तिम्रो पजेरो गाडी पास हुनै नसक्ने गरी
सुतिदिन्छौँ,ओडेर खुल्ला आकाश

छोरो पाउन नसकेर फ्यालिएकी म
यौन संतुष्टि दिन नसकेर पतिङ्गर उडाइएकी म
बेच्यौ मलाई र आफैं पस्यौ नग्न
बम्बैको कोठिमा
उल्टै बेश्या भन्यौ मलाई
छोरो पाइदिन पटकौँ एभोर्सन गराएर
कम्जोर,कुरुप र दुर्बल बनेकी म
लोग्ने मरे पनि छोराछोरीको मायाले
तिमीले झैँ अर्को लोग्ने गर्न सकिन
अहिले तिनै छोराछोरीबाट
बृद्धाश्रममा फ्यालिएकी
आफन्तबाटै बेचिएकी म

रक्सी भट्टीमा इज्जत बेचेर फर्किएपछि
तिम्रा निर्मम औंलाहरु बर्षाइरहयौ म माथि
र पागल्नी भन्यौ
मेलामै बलात्कार गर्यौ
स्कुलमै बलात्कार गर्यौ
हजुरआमा भन्यौ र बलात्कार गर्यौ
छोरी भन्यौ र बलात्कार गर्यौ
नाबालक भन्यौ र बलात्कार गर्यौ
नातिना भन्यौ र बलात्कार गर्यौ
अर्धाङ्गिनी भन्यौ र बलात्कार गर्यौ
हो मलाई बहुलाइ बनायौ,सडक बहुलाइ

आधा रातसम्म सुसेधन्दा केलाइ रहेँ
बिहान नहुदै उनिरहेँ समय सन्दर्भहरु
बृद्ध बाआमाको स्याहार गरिरहेँ हर पल
पैसा नकमाउने भन्यौ
बेरोजगार भन्यौ र दौडायौ पैसासगै
बिदेशिन बाध्य पार्यौ
घार बिगार्यौ,परिवार बिगार्यौ
समानताका नारा थन्क्याएर अदालतमै
असमान ज्यालामा काम लगायौ
नोकर बनाएर मालिक बन्यौ
भुमिहीन बनाएर भुमिपति बन्यौ
शाशक बनेर शासन चलाइरह्यौ
शक्तिशाली बनेर अबला भन्यौ

कहिले देउकी बनायौ
कहिले झुमा बनायौ
कहिले कुमारी बनायौ
कहिले बादी बनायौ
घाम देख्नै दिएनौ
घुम्टोभित्र लुकाइरह्यौ
दाइजोको नाममा जिउदै जलायौ
कम्जोर झुत्रि बनाएर ,बोक्सी नामाकरण गर्यौ
हरेक बाहानामा मार्यौ,मारिरह्यौ

म हावा बहिरहेँ आँधी चल्नै सकिन
झरी परिरहेँ घनघोर बर्षिनै सकिन
फिजिएर बगेँ नदी,भंगालो बग्नै सकिन
पछ्याइ रहेँ गोरेटो मुल बाटो दौडनै सकिन

तर,यदी म हामी भयौं भने
पृथ्वीको गति रोकिदिन सक्छौं
सूर्य त्यही अड्याइदिन सक्छौं
सक्छौं ,रोक्न झर्नाको गति
हावाको वेग र सिङ्गो सृष्टि नै
सक्छौ रोक्न युगौदेखि तिमीले
खाइपाइ आएका सेवा सुबिधाहरु पनि
पालि राख तलव दिएर नरपिशाच
यौन पिपाशुहरुलाई युगौयुग
सुरक्षित राख कानुनका ठेली न्यायलयमै
र मलाई बोक्सी बनाइरहू
हो,म बोक्सी हुँ सरकार मलाई फाँसी दे।