ताजा समाचार

श्रावण १६ गते २०७६

भद्र छुवाछूत (लघु कथा )

पवित्ररामको घर किन्न वखानसिंहले एकजना बिर्खनारायण नामका ग्राहक लिएर आए । वखानसिंहको सल्लाह अनुसार पवित्ररामले घरमा तुलसीको मैरो पानीको धारा पनि निर्माण गरेका थिए । बिर्खनारायण मूल गेट प्रवेश गर्नु अघि बिध्दुत प्राधीकरणले टाँसेको सानो साइनवोर्ड पढे । यसमा पहिलो नाम मात्र थियो । पछिल्लो थर केही नबुझ्ने गरि कोरिएको थियो । वखानसिंहले पवित्ररामलाई बोलाए । पवित्रराम घर पछाडिबाट आए । तीनैजना घरको कोठा कोठा हेर्दै छतमा पुगे । यसपछि बैठक कोठामा आएर पसे ।

बिर्खनारायणलाई त्यस घरका कोठा पार्केटिङ मोहडा गर्भे दराज रंग बत्तीदेखि घरको मूल्य समेत मन पर्‍यो । बिर्खनारायणले पवित्ररामको थर सोधे । पवित्ररामले जवाफ दिनु अघि वखानसिंहले तपाईं हामी सबै एउटै जात त हो नि भनि रकमी उत्तर दिए । भोलि नै घर पास गर्ने सल्लाह भयो । बिर्खनारायणले पवित्ररामको त्यस घर भएको जग्गाको लालपुर्जा हेर्न चाहे । पवित्ररामले लालपुर्जा झिक्न दराजको चापि खोल्न थाले । वखानसिंहले आफ्नो आम्दानी गुमेको मात्र ठानेनन् बिर्खनारायणको बचनरुपी झापड समेत खाने ठाने । बखानसिंहले खुसुक्क गोजीबाट मोवाइल सेट झिकि कानमा जोर्दै ल ल म बाहिर आउछुू भन्दै भर्याङबाट ओर्ले । पवित्ररामले लालपुर्जा चिया टेवुलमा फिजारे । बिर्खनारायणले लालपुर्जामा भएको जग्गाधनीको नाम पवित्रराम सस्वर पढे भने पछिको चार अक्षरले बनेको थरको शब्द कामेको ओठले मनमन पढे । उनले पनि घण्टि नै नबजेको सानो मोवाइल सेट कानमा टाँसि चर्को र आत्तिएको स्वरमा बोले: इमर्जन्सीमा हो, हृदयघात ! ल म आइ हाले । अरु पछि सल्लाह गरौला भन्दै उनी त्यहाँबाट हिडे ।

पवित्रराम बैठककोठा बाहिरको साँगुरो कौसीमा निस्के । उनले वखानसिंह र बिर्खनारायण छुट्टा छुट्टै दिशातिर गइरहेको हेर्दै विगतका केही घर घडेरि सम्बन्धि परिघटनाहरु सम्झन पुगे । गाँउको घर मुस्किलले बेचे पछि घर किन्नेले त्यस साल नै ढुग्ङाले छाएको छानो उधारी ठूलो प्वालबाट घरभित्र घाम झिराइ पूजा लगाएर घर प्रवेश गरेका थिए । शहरमा बसाइँ सरे पछि भाडाको कोठा खोज्न उनलाई मुस्किल परेको थियो । पूरा नाम भन्दा कोठा कतै नपाए पछि पवित्रराम मात्र भन्दा कोठा पाएका थिए । छोरालाई डि भि परेपछि आफु बस्ने नजिकै घडेरी किन्न खोजे । उनले साडे तीन आनाको एउटा मन परेको घडेरी सीधै जग्गाधनीसंग सम्पर्क गरि फेला पारे ।

चारदिन पछि घडरि पास गर्ने सल्लाह घडेरि भएको ठाँउमा नै भयो । जग्गाधनीसंग सल्लाह गर्दा घडेरि संगैको घरका मालिक भोलानन्द पाध्यले एक तला माथिको कौसिबाट अध्यारो मुख लगाएर हेरिरहेका थिए । दुई दिन पछि पवित्रराम त्यो घडेरि पुनस् हेर्न पुगे । त्यसबेला उनले घडेरिको कम्पाण्डको पर्खालमा ठूला ठूला छापेका अक्षरमा “यो जग्गामा झगडा छ”भन्ने कागज टाँसेको देखे । झगडामा नफस्नु नै राम्रो ठानि जग्गाधनीले बारंवार फोन गर्दा पनि फोन नउठाइ तर्केका थिए । पवित्रराम केहि क्षण विगतका यी घटनाहरु गहिरो रुपमा चिरफार गर्दै टोलाई रहे । त्यसदिनदेखि उनले यस्ता घटनालाई भन्ने गरेका छन् : भद्र छुवाछूत !

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।