ताजा समाचार

श्रावण १४ गते २०७६

लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन बनाउन सहयोग

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवन निर्माणका लागि अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

अमेरिकाको क्यार्लिफोनियास्थित नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समितिका कोषाध्यक्ष एवं कलाकार गोमा अधिकारी लिम्वुले उक्त सहयोग गरेकी हुन् । उनी लमजुङ निवासी हुन् । सहयोग रकम १ हजार डलर रहेको छ ।

उक्त सहयोग रकम नेपाली जनसम्पर्क समितिका कार्यबाहक अध्यक्ष नारायण खनालले नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीमार्फत प्रतिष्ठानका उपमहासचिव चोलेन्द्र पौडेललाई हस्तान्तरण गरे ।

उक्त अवसरमा कास्की कांग्रेस सभापति केसीले विदेशमा बसेको नेपालीले नेपालमा सहयोग गर्नु सह्रानीय भएको भन्दै सहयोगको सही सदुपयोग गर्न आग्रह गरे ।

नेपाली जनसम्पर्क समितिका कार्यबाहक अध्यक्ष नारायण खनालले विदेशमा रहेका हामी नेपालीले नेपालीको पिडा र दुःख टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै नेपालको विकास र समृद्धि आफूहरुको चाहना र सपना भएको बताए ।

प्रतिष्ठानका उपमहासचिव एवं लोकदोहोरी गायक पौडेलले प्रतिष्ठानको भवन निर्माण भइरहेको अवस्थामा यो सहयोग निकै महत्वपूर्ण हुने भन्दै सहयोग दाता लिम्वुलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्यद्धय भानु ढकाल, रामप्रसाद अधिकारी, युवा नेता मोहन पण्डित, भीम गौतम, कांग्रेसका मुख्य सचिव विजयराज अधिकारी, ध्रव खनाल लगायत सहभागी थिए ।