ताजा समाचार

श्रावण १३ गते २०७६

ग्यास्ट्रो केयरमा हेपाटाइटिस डे

विश्व हेपाटाइटिस दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आइतबार पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर पोखरा)ले दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

सोही अवसरमा आयोजित अन्तक्र्रियासहितको सचेतना कार्यक्रममा डा सुवास भट्टराईले हेपाटाइटिसका प्रकार, उपचार र भ्रमबारे प्रकाश पारे । उनले हेपाटाइटिस बि र सीको उपचार पोखरामै सम्भव भएकाले रोग नलुकाउन र उपचार गरी स्वस्थ बन्न आग्रह गरे । उनले भने, ‘हेपाटाइटिस लागे पनि केही भएको छैन वा अब जीवन बाँकी छैन दुवै नसोच्नुस् । यसको पूर्ण उपचार सम्भव छ ।’

हेपाटाइटिस लागेको लामो समयसम्म पनि कुनै लक्षण नदेखिन पनि सक्ने भएकाले बेला बेलामा कलेजो जाँच गराउन आग्रह गरे । परिवारको साथ र उपचार एकसाथ जरुरी हुने भएकाले हेपाटाइटिसबारे विद्यमान भ्रमहरु हटाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘हेपाटाइटिस लागे पनि उपचार सम्भव छ । सँगै खाँदा, बस्दा, जुठो खाँदा सर्र्दैन । असुरक्षित यौन सम्पर्क, हेपाटाइटिस भएकाले प्रयोग गरेका सिरिन्जको प्रयोग र गर्भवती आमाबाट बच्चामा मात्र सर्छ ।’

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले पोखरामा सुपर स्पेसालिटी सेवा सुरु हुने खुसीको विषय भएको बताए । ग्यास्ट्रोका बायोक्यामिस्ट भूपेन्द्रराज पाण्डेयले राजधानी बाहिर पहिलो पटक फाइब्रो स्क्यानसमेत राखेर अत्याधुनिक सेवा दिइरहेको बताए । कार्यक्रममा गिरबहादुर खत्रीले पनि बोलेका थिए ।

दिवसमा ग्यास्ट्रोले ६० जनाको सित्तैमा हेपाटाइटिस जाँच गरेको छ। तीमध्ये २ जनालाई हेपाटाइटिस बि र अर्का २ जनालाई हेपाटाइटिस सि भेटिएको छ । शिविरमा सहभागीको सित्तैमा मधुमेह र जन्डिस परीक्षण पनि गरिएको थियो ।

कार्यक्रममा करिब २ दशकअघि हेपाटाइटिस सी भएर उपचार गरी स्वास्थ्यमा उल्लेख्य सुधार भएका एक बिरामीले पनि अनुभव सुनाएका थिए ।