ताजा समाचार

श्रावण १३ गते २०७६

महतगौंडामा बन्यो सेल्फी ब्रिज

सेती नदी पोखरेलीका लागि सौन्दर्य हो, कहिलेकाँही विपद्को मूल पनि हो । कतै निकै गहिरिएर कतै उत्रिएर पोखरा उपत्यकामा लुकामारी गर्ने सेतीको खोंच पर्यटकका लागि आकर्षण बन्दै गएको छ ।

पोखरा १७ महतगौंडामा सेती नदिमाथि प्राकृतिक पुल छ । लाइट गाडीसम्म हिड्न मिल्ने प्राकृतिमा आफैं बनेको पुलमुनि सेतीका नागबेली चाल देखिन्छ । यो पुलसँग हालै झोलुंगे पुल बनाइएको छ ।
सीतापाइला झोलुंगे पुल निर्माण उपभोक्ता समिति अध्यक्ष प्रेम थापाले यो पुलको नाम सेल्फी ब्रिज राखेका छन् । उद्घाटन हुन भइनसक्दै यहाँ आएर सेतीको सोंच हेर्ने र प्राकृतिक पुल हर्नेको भीड लागेको छ । थापा भन्छन्, ‘दिनमै ४, ५ सय मान्छे आउँछन् । सेल्फी खिच्नेको भीड हुन्छ । यसलाई सेल्फी ब्रिज भन्नुपर्ला ।’

सेल्फी पुलबाट देखिएको सेती नदीमाथिको प्राकृतिक पुल ।

पुलबाट उत्तरतिर प्राकृतिक पुल छ । उत्तर र दक्षिणतिर सेतीको खोंच र हरिहरधाम मन्दिर छ । पोखरा १५ अमिलतरातिर १२ फिटको राष्ट्रिय झन्डासहित हरिहर भ्युटावर बनाउने तयारी भएको छ । यसका लागि मन्दिरले ५० हजार सहयोग गरेको छ । समाजसेवी यामकला थापाले १६ हजार सहयोग गरेकी छन् । हरिहर भ्युटावरमा सुरक्षाका लागि सेफ्टी बेल्ट पनि राख्ने समितिको तयारी छ ।

पुलको संरक्षण र सञ्चालनका लागि झोलुंगे पुल संरक्षण समिति गठन भएको छ । १ वर्ष प्रचारप्रसारका लागि भ्युटावर निशुल्क चलाउने समितिले जनाएको छ । वरिपरिको क्षेत्रमा फूल, विरुवा रोपेर थप हरियाल बनाउने, सेती खोंचलाई परम्परागत आख्यानमा जोड्ने र १ वर्षपछि टिकटको व्यवस्था गर्ने अध्यक्ष थापाले बताए ।

पुल अनुगमन गर्दै पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी र कार्यपालिका सदस्य राधिका शाही योगी ।

५६ मिटर लामो यो पुल २७ लाख ५२ हजार १ सय १९ रुपैयाँ लागतमा निर्माण भएको हो । गत चैत २५ गते सुरु भएको पुल निर्माण असार मसान्तमा सकिएको हो ।

पूलको दक्षिणतिरको सेती खोच र हरिहर धाम मन्दिर ।