प्रदेश ५ का करिब आधा दर्जन शिक्षण संस्थाहरुमा विप्लव समूहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले एकसाथ कालो ब्यानर राखेका छन् । ब्यानर राखेका स्कुल तथा कलेज सञ्चालकको फोटोयुक्त कालो ब्यानरमा ‘सामाजिक बहिस्कार गरौं’ लेखिएको छ । रुपन्देही, नवलपुर, अर्घाखाँचीका कलेज तथा विद्यालयहरुमा एकसाथ कालो ब्यानर टाँगिएको हो ।
रुपन्देहीको देवदहस्थित सगरमाथा अंग्रेजी बोर्डिङ स्कुल, तिलोत्तमाको नमस्ते एकेडेमी, बुटवलको सञ्जीवनी नर्सिङ कलेज, सैनामैनाको न्यू एकेडेमी, सिद्धार्थ मेडिकल कलेज, गैंडाकोटको मुकुन्दसेन इंग्लिस बोर्डिङ स्कुल, गैंडाकोटकै अक्सफोर्ड इन्जिनियरिङ कलेज र देवचुलीको सेन्ट जोसेफ इंग्लिस बोर्डिङ स्कुलमा कालो ब्यानर राखिएको हाे । त्यसैगरी, अर्घाखाँची माध्यमिक बोर्डिङ स्कुल सन्धिखर्कमा समेत कालो ब्यानर टाँगिएको छ ।
निजी स्कुल र कलेजहरुले चर्काे शुल्क लिएको, जनप्रतिनिधिले निजी स्कुल चलाएको र छात्रवृत्तीमा अनियमितता गरेकाले कालो ब्यानर राखेको अखिल (क्रान्तिकारी) का नेता वीरेन्द्र विकले बताए ।