ताजा समाचार

श्रावण १२ गते २०७६

विप्लव नेकपाका कास्की सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ। नेकपा कास्की सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

यसअघिका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई नेकपाले उक्त पदको जिम्मेवारीमा केही दिनअघि मात्र खटाएको बुझिएको छ। विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए।

विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।