ताजा समाचार

श्रावण ११ गते २०७६

प्रकट पंगेनीको ‘अक्षरभरि अक्षता’

साहित्यकार प्रकट पंगेनी ‘शिव’ को कविता सञ्चयन ‘अक्षरभरि अक्षता’ लोकार्पण गरिएको छ । उक्त कृति शनिबार पोखरामा सार्वजनिक गरिएको हो । यो उनको चौंथो काव्यकृति हो ।

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कृति लोकार्पण गरेका हुन् । उक्त अवसरमा श्रेष्ठले कृतिकार पंगेनी मूलतः घरगृहस्थीको कवि भएको धारणा व्यक्त गरे ।

उनले भने, ‘ऊ मूलतः घरगृहस्थीको कवि हो ।’ उनका कविताका विशेषता बारे श्रेष्ठले भने, ‘उलाई श्रीमती दुख्छ । कहिले काँही गोठको गाई दुख्छ । पट्पटी फुटेको खेत दुख्छ ।’

कविता कृतज्ञताको अभिव्यक्ति भएको भन्दै उनले नदीले झै आफ्ना वरपरलाई स्पर्श गर्न सक्ने विशेषता यसमा हुनुपर्ने विचार व्यक्त गरे ।

४ दशक अगाडिको कलेज जीवनदेखि नै पंगेनी साहित्य सृजनामा सक्रिय रहेको उनले स्मरण समेत गरे ।

कृतिकार पंगेनीले लोकार्पण गरिएको पुस्तकबाट केही कविता वाचन गरेका थिए ।

कृतिका प्रकाशक मेघराज आचार्यले साहित्यको सेवा गर्ने अवसर प्रदान गरेकोमा कृतज्ञता ज्ञापन गरे । आचार्यले आगामी दिनमा यसको श्रीवृद्धिमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पोखरा थियटरका निर्देशक परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार जीवन सागर भण्डारीले स्वागत गरेका थिए ।