ताजा समाचार

श्रावण ११ गते २०७६

उपेक्षित लघुकथाले महत्व पाउँदै छ

लघुकथा प्रतिष्ठान पोखराले लघुकथा सत्रौं नियमित वाचन शृंखला शनिबार भएको छ । साहित्य सिर्जना, साहित्यिक उन्नयन र भाषिक साँस्कृतिक खोजमा लघुकथा लेखन र वाचनमा योगदान पु¥याउने उद्देश्यले संस्था गठन गरिएकोे हो ।

कार्यक्रममा पहिले उपेक्षित रहेको लघुकथा हालका दिनमा क्रमशः आख्यान क्षेत्रमा महत्त्व पाएको वक्ताहरुले बताएका छन् । साहित्यकार भाष्करले लघुकथा लेखन कार्य त्यति सजिलो नभएको र यसलाई गहिरो अध्ययन चाहिने बताए ।

वाचित लघुकथाको समीक्षात्मक टिपप्णीसमेत गरेका उनले वर्तमान समाज, राजनीति, साहित्य, यौन मनोविज्ञान जस्ता विषय व्यग्यात्मक पारामा समेटिएको कृतिले विसंगति तथा विकृतिलाई धक्का दिएको टिप्पणी गरे । कुनै कथाहरुमा विषयवस्तु र शीर्षक तालमेल नभएको ढाँचा शैली उल्लघन भएको, भाषाशैली अझ परिष्कृत गर्नुपर्ने सुझावसमेत दिए ।

प्रतिष्ठानका अध्यक्ष विष्णु अल्पविरामले लघुकथा विकास र बवस्तारमा पोखरेली स्रष्टा वामे सर्दै गरेको बताए । १७ औं नियमित शृंखलामा मोफसलका ३ वटा र पोखराका १२ वटा लघुकथा वाचन गरिएका थिए । मोफसलका लघुकथामा लता केसीको आवरण, गंगा आचार्यको आश्वासन र गोरखबहादुर सिंहको जोडिएको घर लघुकथा वाचन गरिएको थियो ।

पोखरेली लघुकथाकार विष्णु बाँस्तोला, लक्ष्मी थापा, लक्ष्मी देवकोटा, गीता तिवारी, सुनिल पाण्डे, लक्ष्मण गौतम, लीला पण्डित, शोभा लामिछाने, विष्णुहरि अधिकारी, कल्याण पन्त, विष्णु अल्पविराम, भाष्कर लगायतले लघुकथा वाचन गरेका थिए । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव कल्याण पन्तले गरेका थिए ।

हरेक महिनाको दोस्रो शनिबार नियमित लघुकथा वाचन हुँदै आएको छ ।