पोखराको साँघुमुख महेन्द्रपुल क्षेत्रका १ सय ५० व्यवसायीलाई कर तथा वित्तीय साक्षरता शिक्षा प्रदान गरिएको छ ।
एनसआइसी एशिया बैंकको व्यवस्थापनमा साँघुमुख महेन्द्रपुल बजार समितिले सो क्षेत्रका व्यवसायीलाई उक्त प्रशिक्षण दिएको ।
कार्यक्रममा चाटर्ड एकाउन्टेन्ट उभेक कुमार श्रेष्ठले सरकारले नयाँ बजेटसंगै जारी गरेका नयाँ कर नीति बारे र एनआइसी एसिया बैंकका उत्सव घिमिरे र विवेक श्रेष्ठले बैंक र बैंकसंग कारोबार गर्ने तरिका र फाइदा बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले राज्यको नयाँ कर नीतिले निजी क्षेत्रका व्यवसायी सधैं समस्यामा पर्ने गरेको गुनासो गरे ।
उनले हिजोको जस्तो सोंच र प्रविधिले वर्तमान उद्योग, व्यवसाय चल्न नसक्ने भन्दै राज्यले जारी गरेका नीति नियम बुझेर मात्र काम गर्न आग्रह गरे ।
उनले बैंकले समेत उद्योगी व्यवसायीलाई प्रशिक्षण दिनु सह्रानीय भएको भन्दै यस्ता कार्यले निरन्तरता पाउनुपर्ने बताए । साथै बैंकले पनि आफ्ना सेवाहरु ग्राहकलाई कसरी सरल र सहुलियत ढंगले प्रदान प्रदान गर्ने भन्ने विषयमा सोच्नुपर्नेमा उनले जोड दिए ।
एनआइसी एसिया बैंकका प्रादेशिक सहायक प्रमुख विनयराज पाण्डेले बैंकले आर्थिक कारोबार मात्र होइन समाजिक काम पनि गर्ने बताए । उनले बैंकले व्यवसायीमैत्री कार्यक्रम अघि सारेको समेत बताए ।
बजार समितिका निवर्तमान अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका सदस्य रामेश्वर अधिकारीले राज्यको नयाँ नीतिबारे सबै जानकार हुन आवश्यक रहेको बताए ।
बजार समितिका अध्यक्ष सूर्यराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बैंककी महेन्द्रपुल शाखा प्रमुख स्वेता शेरचन, फेन्सी व्यवसायी समितिका प्रथम उपाध्यक्ष राजु पौडेल, बजार समितिका उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, महासचिव नवराज कोइराला, कार्यक्रम संयोजक दीपेन्द्र चालिसे लगायतले बोलेका थिए ।
साँघुमुख महेन्द्रपुल बजार समिति
साँघुमुख पोखराको पुरानो बजार हो । यो बजारको विशेष महत्व छ । तर बजार धेरै पूरानो भएर पनि चर्चामा नआए पछि साँघुमुखदेखि महेन्द्रपुलसम्मका व्यवसायीहरू संगठित भएर बजार समिति खोले ।

२०६९ सालमा समिति खुलेसंगै बजार प्रवर्द्धनात्मक गतिविधिहरु भएका छन् । समितिले महोत्सव, फुटसल, विभिन्न ठाउँमा सहयोग जस्ता कार्यक्रमहरू गर्दै आएको छ । समितिका हाल १ सय ५० व्यवसायी आवद्ध छन् ।
समितिको संस्थापक अध्यक्ष शिवप्रसाद बाँस्तोला हुन् भने शंकर खरेल, रामेश्वर अधिकारीले नेतृत्व गरिसकेका छन् । हाल सूर्यराज त्रिपाठीले नेतृत्व गरिरहेको महासचिव नवराज कोइरालाले जानकारी दिए ।
एनआइसी एसिया बैंक
‘बैंक पनि साथी पनि, राम्रे पनि हाम्रो पनि’ भन्ने नाराका साथ २२ वर्ष अघि स्थापित एनआइसी एशिया बैंक विभिन्न परिसूचकले नेपालकै सबै भन्दा ठूलो बैंक हो ।

बैंकका देशभर २ सय ९० थाखा, ५ सय ९० एटीएम र ३९ भन्दा बढी विस्तारिक काउन्टर सञ्चालित छन् ।
बैंकले नेपालमै पहिलो पटक स्वीप इन र स्वीप आउटको सुविधा, बचत खाताबाट मुद्धति खाताको समेत सुविधा, देशैभरी रहेका बैंकका कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, शून्य मार्जिन डिपोजिटमा निःशुल्क लकर सुविधा समेत बैंकले प्रदान गर्दै आएको छ ।
साथै सर्वाधिक उच्च व्याजदरसंगै २२ वटा चामत्कारिक योजना समेत सञ्चालन गरेको बैंकले जनाएको छ ।




