यस्तो पो रक्तदान कार्यक्रम !

पोखराको इतिहासमै पहिलो पटक ६ सय ३९ युनिट रगत संकलन भएको छ । लाहुरे तालिम सम्बन्धी प्रशिक्षण दिने संघसंस्थाको छाता संगठन नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनद्वारा आयोजित रक्तदानमा ६ सय ३९ जनाले रक्तदान गरेका हुन् ।

एशोसिएसनले हरेक वर्ष खुला रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस वर्ष नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रीय समिति पोखराका अध्यक्ष गजबहादुर गुरुङको संयोजकत्वमा पोखराको अमरसिंह चोक र पोखरा रंगशाला गरी २ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

जसमा अनुसार अमर सिंहचोकमा २ सय ७६ र रंगशालामा ३ सय ६३ युनिट रगत संकलन भएको संस्थाका क्षेत्रीय कोषाध्यक्ष सेत्तमराज गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार एशोसिएसनमा आवद्ध ३९ वटा ट्रेनिङ सेन्टरमा आवद्ध प्रशिक्षार्थी कार्यक्रममा सहभागी थिए ।

एशोसिएसनले सामाजिक काममार्फत नेपालको ३ क्षेत्र पोखरा, काठमाडौं र धरानमा सामाजिक कामलाई समेत प्राथमिकता दिंदै आएको जनाएको छ ।

रक्तदान कार्यक्रममा वडाध्यक्ष रामबहादुर कार्कीले रक्तदान जत्तिको धर्म अन्य कुनै नहुने बताए । उनले रक्तदान बारे युवापुस्तालाई बुझाउन आवश्यक रहेको समेत बताए ।

उक्त अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, एशोसिएसनका प्रमुख संरक्षक रामप्रसाद गुरुङ र संरक्षक यामबहादुर गुरुङ लगायतले बोलेका थिए ।