पूर्वी नवलपरासीको कावासोतीमा बिहीबार राति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले साउन ७ देखि सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो ।
नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । विप्वल समूहले केही दिनअघि सरकारी गाडी चल्न नदिने चेतावनी दिएकाले घटनामा उसैको संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा आगजनी भएको जानकारी दिए । आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ ।






