एनआईसी एशिया सबैभन्दा उत्कृष्ट वित्तिय प्रतिवेदन बनाउने बैंक बनेको छ। नेपालका वाणिज्य बैंकहरुको वार्षिक वित्तिय प्रतिवेदनहरुमा द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले एनआईसी एशिया बैंकको प्रतिवेदनलाई सर्वोत्कृष्ठ ठहर गरेको हो।
बुधबार काठमाडौंमा आइक्यानद्वारा आयोजित विशेष कार्यक्रममा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई अर्थमन्त्री डा युवराज खतिवडाले ‘उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८’ प्रदान गरे।
एनआईसी एशियाले केही वर्षयता आक्रामक रुपमा बजार विस्तार गर्दै आएको छ। शाखा विस्तार र निक्षेप संकलनका हिसावले यो नेपालको अग्रणी वाणिज्य बैंक बनेको छ।
आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ।

यो अवार्ड प्राप्त गर्ने संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ठ वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाका रुपमा लिइन्छ।
एनआईसी एशिया बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्डस् (एनएफआरएस) को मापदण्ड बमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरुको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको मानिएको छ।
उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएपछि एनआईसी एशयिा बैंकले यसबाट थप राम्रो काम गर्ने हौसला मिलेको बताएको छ।
‘यो अवार्डले बैंकलाई थप राम्रो काम गर्ने हौसला मिलेको छ र आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्टता प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाउँछ’, बैंकले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।
आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा एनआईसी एशिया बैंकले मुलुकभर २९२ शाखा कार्यालय, ३१० एटिएम, ५१ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाएको छ।
आफ्ना १७ लाख बढी ग्राहक रहेको र प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्दै आएको बैंकले विज्ञप्तीमा बताएको छ।




