त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने भएका छन्।
त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो। अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ। यसरी अनुमति लिंदा सम्बन्धित प्राध्यापकले आंगिक क्याम्पसमा पढाइरहेको भन्दा फरक सिफ्ट हुनुपर्छ।
एकै सिफ्टमा आंगिक र नीजि क्याम्पसमा पढाइरहेको पाइएमा कारबाही गरिने पनि त्रिविले जनाएको छ। त्रिविका प्राध्यापकहरु आंगिक क्याम्पसमा पढाउन छोडेर एउटै सिफ्टमा पनि अन्य निजी कलेजमा पढाइरहेका छन् । कतिपयले निजी कलेज र विद्यालय नै सञ्चालन गरेका छन्। त्रिविले यसको अनुगमन भने गर्न सकेको छैन ।






