डेन्टल डाक्टरले आफ्नो अस्पतालमा बच्चा जन्माएको भन्दै नक्कली बर्थ सर्टिफिकेट बनाइदिएको फेला परेको छ। पोखराको जिनो अस्पतालमा कार्यरत डा सन्तोषकुमार भट्टले बच्चाको नक्कली बर्थ सर्टिफिकेट बनाएको फेला परेको हो।
डा भट्टले कोरियन नागरिक किम नाराको बच्चा आफ्नो अस्पतालमा जन्मिएको भन्दै नक्कली कागजपत्र बनाएर नेपाली बच्चा तस्करी गर्न लागेको थाहा पाएपछि उनीहरुलाई सिआइबीले पक्राउ गरेको छ। उनीहरु गत बैसाख १९ गते नै पक्राउ परेका हुन्। पक्राउ परेका दन्त चिकित्सक र कोरियन महिला नारा गत जेठ २३ गते पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
एक गरिब नेपाली दम्पतीको छोरालाई कोरियन महिला नाराले आफ्नो सन्तान भन्दै कोरिया लैजान लागेकी थिइन्। त्यसका लागि दाँतका चिकित्सक भट्टले आफ्नो अस्पतालमा नजन्मिएको बच्चालाई आफ्नो अस्पतालमा जन्मिएको भन्दै प्रमाणपत्र बनाइदिएका थिए।
दाँतको अस्पतालमा बच्चा जन्मिएको सर्टिफिकेट बनाएर पोखरा महानगरपालिकाबाट कोरियन नागरिक नाराकै बच्चा भनेर जन्मदर्ता समेत बनाइएको थियो। सोही जन्मदर्ताको आधारमा कोरियन दूतावासबाट नाराले पासपोर्टसमेत बनाइसकेकी थिइन्। तर सोधपुछका क्रममा दाँतको अस्पतालबाट बर्थ सर्टिफिकेट लिएपछि नारा शंकामा परेकी थिइन्।




