तीजको नाममा बढेका विकृति रोक्न माग

सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सरल र सभ्य तरिकाले मनाउने वातावरण बनाउन माग गर्दै नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । तीज आउनु महिना दिन अगाडिदेखि नै भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएकाले ज्ञापनपत्र बुझाइएको अभियानका संयोजक अञ्जु केसीले जानकारी दिइन् ।

‘तीज भड्किलो पर्वको रुपमा स्थापित हुँदै गएको छ । यसले बोकेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरु विस्तारै गुम्दै गएका छन्,’ केसीले भनिन्, ‘दर खाने र जमघट हुने नाममा तडकभडक, महँगा गरगहना, कपडासहित पार्टी प्यालेसदेखि तारे होटलसम्म हुने भड्किलो प्रदर्शनले मौलिकतामाथि प्रश्न उठाएको छ ।’

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले पर्वमा आएका विकृति र विसंगतिलाई निरुत्साहित गर्न प्रशासन सधै तयार रहेको बताए । महिला हिंसा विरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको नारी जागरण अभियानले तीजको मौलिकता संरक्षण र महिला अधिकारको विषयमा विभिन्न कार्यक्रम गर्ने संयोजक केसीले बताइन् ।

पोखरा उपत्यका राष्ट्रिय सरसफाइ अभियानका संयोजक रामबहादुर पौडेलले विकृति, विसंगति पनि समाजका फोहोर जस्तै भएकाले तीनलाई पनि सफाइ गर्नुपर्ने विचार राखे ।

ज्ञापनपत्र बुझाउन नागरिक अधिकारकर्मी शशि तुलाचनसहितका अधिकारकर्मी, अभियान्ताहरु प्रशासन पुगेका थिए । यसपालि भदौ १५ गते दर खाने र १६ गते हरितालिका तीज परेको छ ।