माछापुच्छ«े गाउँपालिका ३ घाचोकस्थित परियारटोलका १२ दलित घर परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र बाराही टाउनले उनीहरुको स्वास्थ्य बिमा गरिदिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बिमा कार्ड हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए । उक्त टोलमा २० परिवार भए पनि ८ परिवारको यसअघि नै गाउँपालिकाले निशुल्क बिमा गरेकोमा बाँकीको लायन्स क्लबले गरिदिएको क्लबका बिमा कार्यक्रम संयोजक यम जिसीले जानकारी दिए ।
कम अवसर प्राप्त दलित समुदायलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न १ वर्षको स्वास्थ्य बिमा गरिदिएको क्लब अध्यक्ष सुरेन्द्र पौडेलले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य बरालले राज्य एक्लैको प्रयासबाट मात्र सुखी नेपाली समृद्ध नेपालको सपना पूरा नहुने भएकाले सामाजिक संघसंस्था तथा क्लबले पनि सामाजिक कार्य मार्फत सरकारलाई लक्ष्य प्राप्तिमा सहयोग गर्नुपर्ने भनाइ राखे ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशमा नयाँ शासन प्रणालीको विकास भएको बताउँदै सांसद बरालले भने, ‘अहिले हामी नितान्त नौलो अभ्यासमा छौं । फरक राज्य प्रणालीको अभ्यासमा छौँ, हाम्रो सोच पनि नयाँ हुनुपर्दछ । लायन्स क्लबको ध्येय राज्यलाई सहयोग पु¥याउने हुनु आवश्यक छ ।’
गाउँपालिका अध्यक्ष कर्ण गुरुङले वर्षको ३ हजार ५ सयको बिमाबाट नागरिकलाई १ लाखसम्मको ऋणबाट मुक्त गर्न सकिने बताउँदै यसवर्ष पनि गरिब तथा विपन्न परिवारको बिमाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको स्पष्ट पारे । अहिले नै नगद हातमा परेन भन्ने स्थानीयलाई लाग्न सक्ने बताउँदै अध्यक्ष गुरुङले १२ घर परिवारलाई १२ लाखको लगानी क्लबको तर्फबाट भएको उनले बताए ।
कार्यक्रममा वडाध्यक्ष सूर्यप्रसाद लम्साल, क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, जोन चियर पर्सन ठाकुरप्रसाद अधिकारी, कार्यक्रमका मुख्य सहयोगी तथा माइकल ग्रिल्स न्युरोडका सञ्चालक रमेश तिवारी, क्लबका उपाध्यक्ष विश्वास भण्डारी, सचिव विकास भुर्तेल, कोषाध्यक्ष लेखबहादुर जिसी, कार्यक्रम संयोजक यम जिसी, रेनु थापा, आरती अधिकारी, लोकनाथ भण्डारी लगायतले बोलेका थिए ।




