कामना सेवा विकास बैंकले आफ्नो सेवालाई गाउँगाउँ विस्तार गर्दै लगेको छ । राज्यको नीति तथा नेपाल राष्ट्रबैंकको निर्देशनसंगै कामनाले आफ्नो सेवा गाउँ गाउँ विस्तार गर्दै लगेको हो ।
बैंकले करिब १ सातामा ४ शाखा ग्रामिण क्षेत्रमा विस्तार गर्यो । केही दिन अघिमात्र पर्वत, म्याग्दी र पोखराको छिनेडाँडामा शाखा विस्तार गरेको बैंकले पोखराको पुरुन्चौर चितेपानीमा शाखा विस्तार गर्यो । बैंकको यो ९७ औं शाखा हो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पुरुन्चौर शाखा शुभारम्भ गरे ।

उक्त अवसरमा मन्त्री लम्सालले अर्थतन्त्रलाई क्रियाशील बनाउन बैंकिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै स्थानीय स्तरमा उपलव्ध साधन र स्रोतको परिचालन गरी कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्ने तर्फ बैंकहरू अग्रसर हुनुपर्ने खाँचो औंल्याए ।
मन्त्री लम्सालले कामनाले ग्रामिणमुखी भई यस्ता लगानीलाई प्राथमिकतामा राखेको भन्दै बैंकले उपलव्ध गराएको वित्तीय सेवा तथा वित्तीय क्रियाकलापको प्रशंसा समेत गरे । उनले बैंकले अझ बढी चुस्त–दुरुस्त एवं दु्रतगतिको सेवा दिनुपर्नेमा जोड दिए ।
बैंकका संचालक देवकृष्ण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा संचालक चतुराखर अधिकारीले घर आँगनमा नै कामना सेवा विकास बैंक वित्तीय सेवा दिन आएकाले भरपूर फाईदा लिन आग्रह गरे ।
बैंकका सहमहाप्रवन्धक एवं गण्डकी प्रदेश प्रमुख टुवराज बाँस्तोलाले बैंकको समग्र वित्तीय अवस्था र पछिल्ला आर्थिक गतिविधिको बारेमा जानकारी गराए ।
कार्यक्रममा बैंकका संस्थापक गणेश बहादुर श्रेष्ठले वैंक नै जनताकोमा गएर ऋण स्वीकृत गरिदिने सजिलो अवस्थाको श्रृजना भएको भन्दै यसले ग्रामिणस्तरको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । उनले बैंकको पहुँच नहुँदा पहिले ऋण माग आवश्यकता परी ऋण स्वीकृत गराउन राजधानी धाउनुपर्ने अवस्था र बाध्यताको स्मरण गरे ।

उक्त अवसरमा बैंकका निवर्तमान अध्यक्ष राजेन्द्रनिधि कोईराला, वैंकका संचालक बलराम बराल, भारती भवन मावि पुरुन्चौर व्यवस्थापन समितिका अध्यक्ष दिपक पौडेल, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलाधर अधिकारी, सृजनशील आमा समूहकी अध्यक्ष दुर्गा बस्नेत, पुरुन्चौर शाखाका शाखा प्रवन्धक कृष्ण सिग्देल लगायतले बोलेका थिए ।
केही अघि पोखरा र हाल काठमाडौंमा प्रधान कार्यालय रहेको बैंकले देशभर ९७ वटा शाखा र ४५ वटा एटिएममार्फत आफ्नो सेवा दिइरहेको छ । ग्रामिण क्षेत्रका र उत्पादनशील क्षेत्रका अलावा कृषि, पर्यटन, शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी बढाउन लागेको बैंकले जनाएको छ ।
वैंकले यसै आर्थिक वर्ष भित्र थप केही शाखा विस्तार गर्ने समेत जनाएको छ । बैंकको चुक्ता पुंँजी २ अर्व ५४ करोड, निक्षेप संकलन २३ अर्व ६५ करोड तथा कर्जा लगानी २० अर्व ३७ करोड रहेको बैंकका सहमहाप्रवन्धक तथा गण्डकी प्रदेश प्रमुख टुवराज बास्तोलाले जानकारी दिए ।




