एक बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या भएको छ। पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ।
उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्थिन् ।
शुक्रबारको दिन पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको हो । भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ।
उनलाई भारतीय प्रहरीले प्रक्राउ गरेको छ। बुवा देब चदारा त्यसै घरको चौकीदारी गर्थे भने आमा त्यसै घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन्। शुक्रबार दिउँसो पौन १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए। अचेत अवस्थामा फेला पारेकी छोरीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृतक घोषणा गरेका थिए।
बालिकाको आइतबार पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ। भारतस्थित नेपाली राजदूतमा कार्यरत एसएसपी प्रकाश अधिकारीकाअनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बलात्कारको प्रयासपछि हत्या गरेका हुन्।
उनले प्रहरीसमक्ष आफूले हत्या गरेको स्वीकार गरेको एसएसपी प्रकाश अधिकारीले जनाएका छन्। भारतीय प्रहरीले बसिम अहमद उर्फ सनुमाथि हत्या र बलात्कारको मुद्धा दर्ता गरेको छ।




