पोखरा महानगरको शैक्षिक छात्रवृत्ति : परीक्षाको नतिजा अझै गुपचुप

पोखरा महानगरको शिक्षा महाशाखाले नतिजा प्रकाशन गरेको २४ घण्टा वित्दा समेत गुपचुप राखेको छ ।

विभिन्न स्कूलबाट एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप महानगरले साउन २ बिहीबार गते परीक्षा लिएको थियो ।

परीक्षामा म्यानेजमेन्टमा २ सय ३२ जना र विज्ञान संकायमा ४ सय ४१ जना गरी ६ सय ७३ जना विद्यार्थी सामेल भएका थिए । जसमध्ये पहिलो चरणमा १ सय १४ जना विद्यार्थी उत्तीर्ण भएको महानगरका शिक्षा अधिकृत वसन्त पौडेलले जानकारी दिए ।

महानगरले सोमबार आफ्नो सूचना पाटीमा मात्र सूचना प्रकाशित गरेको छ तर अनलाईनमा २४ घण्टा वित्दा समेत प्रकाशित गरेको छैन ।

महानगरले आफ्नो अनलाईनमा परीक्षाको आवेदन आह्वान र परीक्षा तालिका प्रकाशित गरेको थियो । तर नतिजा प्रकाशनमा ढिलासुस्ती र अनलाईनमार्फत सार्वजनिक नगर्नुले विद्यार्थीका अभिभावकले आशंका गरेका छन् ।

यस विषयमा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले अनलाईनमा केही समस्या आएकाले प्रकाशित हुन नसकेको भन्दै छिट्टै प्रकाशित गर्ने बताए ।

महानगरले विभिन्न सार्वजनिक महत्वका योजनाको विवरण र आर्थिक विवरण समेत सार्वजनिक गर्ने गरेको छैन । यस विषयमा उपभोक्ता समितिले समेत चासो दिएको छैन ।