नेपाली कांग्रेसले नयाँ निर्धारण गरेका सम्पूर्ण शूल्क घटाएको छ। शूल्क बढाएको विषयमा पार्टीभित्रबाट आलोचना भएपछि सदस्यहरुले पार्टीलाई बुझाउनु पर्ने सम्पूर्ण शुल्क घटाएको हो। मस्यौदा समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमावली संशोधन गरेर प्रारम्भिक सदस्यता शुल्क, क्रियाशील सदस्यता शूल्क, लेवीलगायतका पार्टीले लिने सबै शूल्क घटाएको जानकारी दिए।
उनका अनुसार कांग्रेसले अब प्रारम्भिक सदस्यताका लागि २० रुपैयाँ निर्धारण गरेको छ। यसअघि असार २२ गतेबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको नियमावलीको मस्यौदामा प्रारम्भिक सदस्यता शूल्क ५० रुपैयाँ उल्लेख थियो।
नियमावली समितिले पार्टीको क्रियाशील सदस्यताका लागि तीन सय रुपैयाँ र नवीकरणका लागि दुई सय रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने नयाँ व्यवस्था नियमावलीमा गरेको छ। केन्द्रीय कार्यसमितिमा पेश भएको नियमावलीको मस्यौदामा ‘योग्यता पुगेका नेपाली कांग्रेसको सदस्यले आफू सदस्य रहेको वडा कार्यसमितिको कार्यालयमा पाँच सय रुपैयाँ शूल्कसहित क्रियाशील सदस्यताको प्रतिवद्धतासहितको आवेदन फारम भरी पेश गर्नुपर्नेछ’ भनिएको थियो।
त्यसैगरी क्रियाशील सदस्यता नवीकरण गर्न चाहने क्रियाशील सदस्यले आफू सदस्य रहेको वडामा दैनिक एक रुपैयाँका दरले वार्षिक ३६५ रुपैयाँ नवीकरण शूल्क बुझाउनुपर्ने मस्यौदामा उल्लेख थियो। नियमावली मस्यौदा समितिका संयोजक केन्द्रीय सदस्य रमेश लेखकले पार्टीलाई बुझाउनुपर्ने लेबीलगायतका सम्पूर्ण शूल्कहरु घटाइएको पुष्टि गरेका छन्।
असार २९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमावलीमाथिको छलफलका क्रममा उठेका विषयवस्तुहरु समेटेर सहमतिमा परिमार्जन गर्न मस्यौदा समितिलाई अधिकार प्रत्याभूत गरेको थियो। पार्टीले दिएको अधिकारअनुसार समितिले सहमतिमा नियमावलीलाई संशोधन गरिरहेको छ। लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, मीन विश्वकर्मा, जीवन परियार र ईश्वरी न्यौपाने सदस्य रहेका छन्।






