जन्मदिनमा हरिहरधाममा आरती

पोखरा १७ महतगौडाकी लक्ष्मी शर्मा भण्डारीले सदा शिवजी सिद्देश्वर हरिहर मन्दिरमा जन्मदिन मनाएकी छन् । बत्ति निभाएर होइन, बालेर जन्मदिन मनाऔं भन्ने मान्यताका साथ अष्ठ चिरन्जिबीको पूजा, महाआरतीसहित उनले मन्दिर परिसरमा रुद्राक्षको विरुवा पनि रोपिन् । यो विरुवा उनले नै हेरचाह गर्ने छिन् ।

मन्दिरले वैदिक तरिकाले श्रदालुको जन्मदिन मनाएर पाश्चात्य संस्कृतिलाई विस्थापित गर्ने अभियानै सुरु गरेको छ । शनिबारबाट भएको कार्यक्रममा वैदिक तवरको जन्मदिन मनाउने प्रचलन गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले सुरुआत गरे । थापाले जन्मदिन मनाउने नया वैदिक विधि अनुकरणीय भएको धारणा राखे । उनले यहाँका धार्मिक कार्य र विकासका लागि सहयोग गर्ने प्रतिवद्धता गरे ।

मन्दिर समिति कोषाध्यक्ष विक्रम भन्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । लक्ष्मीका श्रीमान नगेन्द्रले परिवारका ५ जना सदस्य सबैको जन्मदिन हरिहर मन्दिरमा वैदिक विधिबाट मनाउने बताए । समाजसेवी तारा पाखेले शास्त्र अनुसार गया काशीको तीर्थ जाँदा मिल्ने फल यही मिल्ने बताए ।

शनिबारको महाआरतीमा नेपाली कांग्रेसका युवा नेता गुरु बराल, कांग्रेस जिल्ला सदस्य पुण्डरी बराल, कांग्रेस वडा नम्बर १७ सभापति देवी आचार्य लगायत सहभागी थिए ।