बालिका थपलियालाई जसुदा पुरस्कार

यस वर्षको जसुदा स्मृति युवा प्रतिभा पुरस्कारबाट कवि बालिका थपलिया सम्मानित भएकी छन् । शनिबार आयोजित समारोहमा जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत लगायतले थपलियालाई पुरस्कृत गरे।

यो पुस्कार भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्धन समितिले सञ्चालन गर्छ । पुरस्कृत कवि थपलियाले इलामकी कवि जसुदा खाकीले देखेको सपना पूरा गर्न प्रयास गर्न सिर्जना कर्मबाटै लाग्ने बताइन् । उनले सामाजिक विकृति–विसंगतिविरुद्ध सिर्जना गर्न बुबाबाट प्रेरणा मिलेको सुनाइन्। ‘बुबा कवि हुनुहुन्थ्यो, घरमा साहित्यिकलगायतका धेरै पुस्तकको पुस्तकालयजस्तै भएकाले पनि मलाई साहित्यप्रति रुचि बढ्यो,’ उनले भनिन्, ‘साहित्य सिर्जना मेरो रुचिको क्षेत्र हो।’

इलामको चमैता गाउँमा बसोबास गर्ने थपलिया गाउँमै सामाजिक काममा क्रियाशील छिन्। ‘यसपटक भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्धन समितिले ज्यादै उपयुक्त सर्जकलाई पुरस्कार अर्पण गरेको अनुभूत भएको छ,’ साहित्यकार प्रकाश थाम्सुहाङले भने, ‘कवि बालिका गाउँमा बसेर साहित्य सिर्जना अनवरत लागिरहनुभएको छ।’

समिति अध्यक्ष विमल वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका कवि, कवयित्रीले रचना सुनाएका थिए।