घारीपाटन बचत तथा ऋण सहकारी पोखरा १७ को प्ररम्भिक साधारणसभाले गोकर्ण क्षेत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश कृष्णकला केसी कुँवर, लीलाबहादुर जिसी, गोविन्दनाथ योगी र विष्णु जिसी छन् ।
९ सदस्यीय सञ्चालक समिति सदस्यमा रेशम गिरी, कमला जलारी, देवबहादुर थापा र प्यारी गुरुङ छन् । यस्तै लेखा समिति संयोजकमा हरिप्रसाद श्रेष्ठ र सदस्यद्वयमा अशोक द्वारे र देवी तिम्सिना छन् । तोयानाथ लम्साल संयोजक र लीलकाजी गुरुङ र शिशुमाया अधिकारी सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति निर्माणमा सहजीकरण गरेको हो ।

शनिबार आयोजित साधारणसभाकै अवसरमा सहकारीको कार्यक्रम पनि उद्घाटन भएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसीले सहकारी सेयर सदस्यलाई लाभांस बाड्नेमात्र नभई मुलुकको समृद्धिको आधार बन्नुपर्ने बताए । उनले पैसा खरिद बिक्री गर्नुभन्दा पनि सुलभ पसल सञ्चालन गरेर उपभोक्तालाई सस्तोमा स्वस्थ वस्तु उपलब्ध गराउँदै त्यसबाट भएको आम्दानीबाट सेयर सदस्यलाई वितरण गर्न आग्रह गरे ।
महानगर सहकारी व्यवस्थापन समिति अध्यक्ष तेजनारायण अधिकारीले सहकारीलाई कार्यविधि, निर्देशिका एवं मापदण्ड बनाएर व्यवस्थित गर्ने तयारी भएको उल्लेख गरे । उनले नयाँ नयाँ दर्ताभन्दा पनि मर्जको अवधारणालाई महानगरले प्राथमिकतामा राखेको बताए ।
अधिकारी पोखरा वडा नं. १६ र १९ मा बिभिन्न ५ सहकारी मर्ज भइसकेको जानकारी दिए । महानगरमा पुराना ३ सय १४ र नयाँ दर्ता २८ गरी ३ सय ४२ सहकारी सञ्चालनमा छन् ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी सहकारीको भूमिकालाई बुझेर नै सरकारले तीन खम्बे आर्थिक नीति अबलम्बन गरेको बताए । पोखरा १७ को क्षेत्रफल र जंनसंख्या ठूलो रहेकाले यहाँ आर्थिक गतिविधि, लगानी र समृद्धिका लागि सहकारीको भूमिका अहंम हुने उनले उल्लेख गरे ।
कार्यपालिका सदस्य राधिका शाही योगीले सहकारी सामूहिकताको अर्काे नाम भएकाले सामूहिक हितमा समर्पण हुनुपर्नेमा जोड दिइन् । उनले २०७७ असोजसम्म १ व्यक्ति १ सहकारीको नीति लागु हुने भएकाले त्यसलाई मध्यनजर गर्न र महानगरका नीति, नियम, कानुनमा रहेर सहकारी सञ्चालन गर्न आग्रह गरिन् ।

कार्यक्रममा सफल बचत तथा ऋण सहकारी अध्यक्ष हरि बास्तोला, फिस्टेल सहकारीका अध्यक्ष रवीन्द्र श्रेष्ठ, घारीकुलो बचत तथा ऋण सहकारी अध्यक्ष ढाकाराम ढकाल, घारीपाटनका सहसचिव लीलाबहादुर जिसी, उपाध्यक्ष कृष्णकला केसी कुँवर, सदस्य प्यारी गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रमअघि सहकारीले सहभागीले पोखरा १७, आँखा अस्पतालचोकबाट हिमाली टोल, तीनकुने, म्युजिम हुँदै पुन आँखा अस्पतालचोकको कार्यालयसम्म प्रभातफेरी निकालेको थियो । १ सय ९० सेयर सदस्य रहेको यस सहकारीमा ९९ लाख ५० हजार सेयर पुँजी छ ।
सेयर सदस्यको आर्थिक उत्थान र उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिका लागि लाग्ने नवनिर्वाचित अध्यक्ष कार्कीले प्रतिवद्धता गरे ।




